
काठमाडौं – इजरायल नेपालबाट थप कामदार लैजान सकारात्मक देखिएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जेरुसेलममा भएको भेटमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले नेपाली कामदार संख्या बढाउने विषयमा सकारात्मक जबाफ दिएका हुन् ।
‘नेपालबाट थप कामदार ल्याउने विषयमा प्रधानमन्त्रीले सकारात्मक जबाफ दिनुभएको छु, इजरायलका लागि नेपाली राजदूत प्रह्लादकुमार प्रसाईंले अन्नपूर्णसँग टेलिफोनमा भने । हाल इजरायलमा केयरगिभर र कृषि कामदार गरी करिब चार हजार नेपाली कार्यरत छन् ।
नेपाल र इजरायलबीच गत वर्ष साउनमा एक समझदारी भएसँगै नेपालबाट ‘पाइलट प्रोजेक्टु अन्तर्गत केयरगिभर कामदार लैजान बाटो खुलेको थियो । इजरायलले ‘गभर्नमेन्ट टु गभर्नमेन्ट’ समझदारी पत्रअनुसार पाइलट कार्यक्रम सुरु गरी चरणबद्ध रूपमा तीन सय कामदार लिने सहमति दुई देशबीच भएको थियो । ती कामदारले इजरायलमा पाँच वर्ष काम गर्ने अवसर पाउनेछन् ।
उक्त कार्यक्रमअनुसार पहिलो चरणमा ६० जना छनोट भएकोमा १४ जना इजरायल पुगिसकेको र अन्य प्रक्रियामा रहेको राजदूत प्रसाईंले बताए । गभर्नमेन्ट टु गभर्नमेन्टु डिलअनुसार नेपाली कामदार लिने मुलुकमा इजरायल दोस्रो हो । दक्षिण कोरियाले पनि यसरी नै कामदार लिँदै आएको छ । भेटवार्तामा इजरायल र नेपालबीचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने, त्यसलाई सुदृढ गर्दै दुवै देशको हितमा अघि बढाउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री थापाले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशले मजबुत सम्बन्ध राख्दै आएको चर्चा गर्दै इजरायलले नेपालको आर्थिक विकासमा वर्षौंदेखि पुर्याउँदै आएको सहयोगको प्रशंसा गरेका थिए । उनले भूकम्पपछिको उद्धार, राहत र पुनस्र्थापना प्रक्रियामा नेपाललाई इजरायली जनता र सरकारले गरेको सहयोगको स्मरण गरे । इजरायली प्रधानमन्त्रीले भूकम्प पछिको अवस्थाबारे चासो राख्दै भूकम्पपीडित तथा घाइतेको अवस्था र पुनर्निर्माणमा भइरहेका प्रगतिबारे चासो राखेको इजरायली विदेश मन्त्रालयले प्रेसविज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रधानमन्त्री नेतन्याहुलाई नेपालको राजनीतिक परिस्थितिबारेसमेत मन्त्री थापाले जानकारी गराए । ‘गत वर्ष हामीले लोकतान्त्रिक र समावेशीमूलक संविधान जारी गरेसँगै नेपाल शान्ति, स्थिरता र आर्थिक समृद्धिको मार्गमा अघि बढेको छु, मन्त्री थापाले भनेका थिए । उनले इजरायलबाट कृषि, शिक्षा, अनुसन्धान, तालिम र पुनर्निर्माणमा सहयोग चाहेको बताए । मन्त्री थापाले इजरायललाई कामदार संख्या बढाउन समेत आग्रह गरेका छन् । ‘नेपालले चाहेका क्षेत्रमा हामी सहयोग गर्न तयार छौ, नेतन्याहूले भनेका थिए । भेटवार्तामा नेपाल र इजरायलका विदेश सचिव तथा दुवै देशका राजदूत सहभागी थिए ।
अन्नपूर्ण पोष्टबाट