कुवेत- नेपालका चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले गत बुधबार देखि शुरु गरेको एकीकृत बस्ती निर्माण अभियानलाई कुबेतबाट पनि आर्थिक सहयोग गर्न कोसेली समुहले अभियान संचालन गरेको छ ।
कोसेली समुहको शुक्रबार बसेको बैठकले धुर्मुस सुन्तलीको महान अभियानलाई केहि भए पनि सहयोग मिलोस भनि आर्थिक संकलन अभियान संचालन गर्ने निर्णय गरेको हो । आर्थिक संकलन अभियानलाई तिब्र बनाउन कोसेलीका बरिष्ठ पत्रकार तोयानाथ दाहालको संयोजकत्वमा पत्रकारहरु राज मल्ल सदस्य सचिव र लोमस बास्तोल कोषाध्यक्ष रहेको समिति समेत गठन गरिएको छ ।
आज कोसेली कार्यालय फर्मानियाबाटै शुरु गरिएको सहयोग संकलनमा कोसेली सदस्यहरुले १०१ केडी संकलन गरेका छन। कोसेली न्युज मार्फत धुर्मुस सुन्तली अभियानमा साथ सहयोग गर्नका लागि संयोजक समितिले सम्पूर्ण कुवेतमा रहेका नेपाली संघसंस्थाहरु, नेपालीलाई अपिल गरेको छ।
संयोजक दाहालले कुवेतमा उठाइएको सहयोग रकम सिधै धुर्मुस सुन्तलीलाई हस्तान्तरण गर्दै सिन्धुपाल्चोकको मेलम्ची ८ गिरान्चौरका तामाङ बस्तीका लागि प्रयोग गरिने बताए। एक दिन को तलब मात्र दिन सके पनि ठुलो सहयोग हुने दाहालले बताए।
सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पीडितलाई दशैँसम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ अभियानमा धुर्मुस सुन्तली आफै पिडित बस्तीमा बस्तीमा ढुंगा बोक्नुका साथै सावेल, बेल्चा बोकेर कार्यक्षेत्रमा खटिएका छन् । वैशाख २९ गतेको पराकम्पले पनि ठूलो क्षति गरेकाले सोहि दिनको सम्झनामा दोश्रो एकिकृत बस्ती निर्माण कार्य सुरु गरिएको उनीहरुको भनाई छ । यस अघि काभ्रेमा निर्माण गरिएको एकीकृत पहरी बस्ती धुर्मुस सुन्तलीले साढे दुई महिनामा नै पिडितलाई हस्तान्तरण गर्न सफल भएका थिए ।
तपाईंहरु पनि यस महान काममा साथ दिन चाहनु हुन्छ भने कोसेली समुहले सुरु गरेको धुर्मुस सुन्तली सहयोग आर्थिक संकलन अभियानका संयोजक तोयानाथ दाहाल ६५५५०६८०, सदस्य सचिव राज मल्ल ६००६७५७२, कोषाध्यक्ष लोमस बास्तोला ६६९७६७३० लाई सम्पर्क गर्न सक्नुहुनेछ ।
नेपालकुवेत डटकमबाट