क्वालालम्पुर- आप्रवासी कामदारप्रति अनुदार व्यवहार र चर्को असुरक्षाका कारण आलोचित मलेसिया सरकारले आप्रवासी कामदारको बस्ने ठाउँ सुधार गर्न रोजगारदाताहरुलाई सचेत बनाएको छ । रोजगारदाताले न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने भन्दै सरकारले त्यसमा सचेत बनाएको हो ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार उपप्रधानमन्त्री तथा गृहमन्त्री दातुक सेरी अहमद जाहिदीले न्यूनतम गुणस्तरको बसोवासको प्रवन्ध नगर्ने कम्पनीहरुलाई कारवाही गरिने चेतावनी दिएका छन् । त्यस्ता कम्पनीहरुलाई थप विदेशी कामदार ल्याउन रोक्का गरिने उपप्रधानमन्त्री जाहिदीले बताएका छन् ।
मन्त्रीपरिषदले आप्रवासी कामदारका लागि दिइनु पर्ने न्यूनतम गुणस्तर सहितको आवासका बारेमा गम्भीर रुपमा ध्यान दिइनु पर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको बैठक पश्चात जारी विज्ञप्तीमा उपप्रधानमन्त्री जाहिदीले न्यूनतम गुणस्तर पुर्याउन नसक्नेले विदेशी कामदार ल्याउन नपाउने उल्लेख गरेका छन् । न्यूनतम गुणस्तरका बारेमा सरकारले विवरण उपलव्ध गराउने भएको छ । सरकारले होस्टल वापत कति रकम लिन पाउने भन्ने बारेमा कुनै निर्णय नगरेको समेत जनाए ।