मलाई छुटाउ भन्दै कुवेतको जेलबाट फोन आइरहँदा 

ज्ञानु पंगेनी, नवलपरासी- लागु औषध कारोवारको अभियोगमा कुवेतको जेलमा सजाय काटिरहकी नवलपरासीकी गोमा दराईले आफूलाई नेपाल झिकाउन फोन मार्फत् आफुलाई नेपाल झिकाउन बारम्वार आग्रह गरिरहेकी छन् । 

गत शुक्रवार राती मात्रै फोन गरेर आफूलाई कसरी जेलबाट छुटाउन मिल्छ भन्ने बारेमा पहल गर्न आमाले अनुरोध गरेको उनकी छोरी आकृति बताउँछिन् । उनले छोरीलाई ९६५५०६५४९९७ ( पाकिस्तानी नागरिक नासर) नम्बर र नाम टिपाउदै उसले आफूलाई जेलबाट छुटाउन सक्ने बताएकी थिइन । तर उनी को हुन् भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको आकृतिको भनाइ छ । 

नवलपरासीको कावासोती नगरपालिका १० निवासी गोमा विगत दुई बर्षदेखि कुवेतको जेलमा सजाय काटिरहेकी छन । कुवेतमा उनलाई उनले काम गर्ने घरबाट लागु औषध सहित प्रहरीले पक्राउ गरेको बताएको छ । तर गोमाले आफु लागुऔषध कारोवारमा संलग्न नभएको बताउदै आएकी छन ।

लेखपढ गर्न नसक्ने गोमा काठमाडौंमा बस्ने एक एजेण्ट(लीला गुरुङ) मार्फत ३ वर्षअघि घरेलु कामदारको रूपमा २०७० असोजमा कुवेत पुगेकी थिइन् । गएको ८ महिनाभित्रमा गोमाले घरमा २ लाख रुपैया पठाएकी पनि थिइन् । तर त्यसपछि उनी एकाएक सम्पर्क विहिन भएकी थिइन् ।

आमाको बारेमा खोजखवर गर्न आकृति २०७१ सालको फागुन २ गते काठमाडौं गएर एजेण्टलाई भेटेर कुराकानी गरेकी थिएन् । तर एजेण्टले आफूले केहि गर्न नसक्ने भन्दै उनलाई फर्काइदिएका थिए । 

त्यसको १० दिन पछि गोमाले अकस्मात फोन गरेर आफूलाई घर मालिकले फसाएको बताएकी थिइन । ‘घरमालिकले झोलामा आधाकिलो जतिको कुनै वस्तु कोठामा राख्न दिएर बाहिर गएको र त्यहि समयमा प्रहरीले छापा मारेर त्यो सामान सहित मलाई पक्रेर ल्याएको छ’ गोमाले आफूलाई बताएको आकृति बताउँछिन् । 

गोमालाई कुवेत जाने प्रकृयामा सघाएका एजेण्टका अनुसार गोमा एक बंगलादेशी नागरिकको प्रलोभनमा फसेर समस्यामा परेकी हुन् । उनका अनुसार कुवेतमा चिनजान भएका एक बंगालादेशी नागरिकले उनलाई उनी काम गर्ने घरमा केहि सामान राखिदिएमा महिना दिनमै ठूलो कमाई हुने प्रलोभन देखाएका थिए । त्यसपछि उनले नियमित रुपमा सामान राख्न दिन थालेका थिए । यसबीचमा उनीहरु बीच टेलिफोनमा लगातार कुराकानी भइरहन्थ्यो ।

यहिबीचमा ति बंगलादेशी नागरिक लागु औषधको कारोवारमा समातिएपछि प्रहरी टेलिफोन सम्पर्क केलाउँदै गोमा कामगर्ने घरसम्म पुगेको थियो । उनलाई घरबाट लागु औषध सहित प्रहरीले पक्राउ गरेको थियो । उनलाई २५ बर्षको जेल सजाय तोकिएको छ । 

आमाले आफूलाई छुटाउन पहल गर्न भने पछि छोरी आकृतिले सञ्चार माध्यम र कावासोतीमा रहेकोे सामी हेल्भेटासद्धारा सञ्चालित सुचना केन्द्रमा लिखित निवेदन दिएकी छिन् । 

गोमालाई आम माफीका लागि कावासोतीमा रहेकोे सुचना केन्द्रले समेत  पहल गरिरहेको छ । सुचाना केन्द्रकी परामर्शदाता रञ्जना लम्सालका अनुसार उनलाई आमाफी दिलाए नेपाल फर्काउन सकिन्छ की भन्ने बारेमा काठमाडौं स्थीत प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) मार्फत् नेपाली दुतावाससंगको समन्वयमा पहल भैरहेको छ । तर घटनाको प्रकृति अप्ठ्यारो भएका कारण कुनै उपलव्धी हासिल हुन नसकेको लम्सालको भनाई छ । गोमाले उपलव्ध गराएको नम्वरमा पनि फोन गर्ने प्रयास गरिरहेको तर सम्पर्क हुन नसकेको उनले बताइन् । 

‘छोराछोरी आमालाई सम्झेर बसेका छन् । जहान पराईको भूमिमा जेलमा परेकी छिन, म यता मिलमा घोटिइरहेको छु । जहान कुरिरहेको छु । उनलाई कसरी बोलाउने हो, केही थाहा छैन । पैसा पनि छैन । दौडधुप गर्न पनि पाउदिन । सरकार र ठूलो मन भएको मान्छेले सहयोग गर्ला कि भनेर आशा गरेको छु’ गोमाका श्रीमान गोपालले भने । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय