दुबई- दुबईको रसिदिया पोली क्लिनिकले नेपालीलाई स्वास्थ्य परिक्षणमा सहुलियत दिने भएको छ । नेपाली समाज युएई र रसिदिया पोली क्लिनिक बिच नेपालीलाई सहुलियत दिने स्वास्थ्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपालीको पहिलो सामाजिक साझा संस्था नेपाली समाज युएईले विभिन्न समयमा आफ्ना क्रियाकलाप गर्दै आउने क्रममा यसपटक अत्यन्तै संवेदनशिल स्वास्थ्य क्षेत्रमा अल रसिदिया पोली क्लिनिक र नेपाली समाज यु ए ई बीच स्वास्थ्य सम्बन्धि सम्जौता पत्रमा हस्ताक्षर भएको हो । समाजका महासचिव मणि भुर्तेलका अनुसार युएईमा कार्यरत नेपालीको स्वास्थ्य उपचारमा सर्वसुलभ तरिकाले सेवा दिने उद्धेश्यका साथ सम्झौता भएको छ । बिगतका दिनमा पनि युएईको विभिन्न ठाउँमा स्वास्थ्य शिबिर आयोजना गर्दै आएको नेपाली समाजले यो सम्झौता गरे संगै नेपालीले उक्त पोलिक्लिनिकमा सुलभ तरिकाले उपचार गराउन पाउने छन ।
रसिदिया पोलिक्लिनिकका प्रमुख कार्यकारी अधिकृत मनु मह्दी र नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सहमतिमा नेपाली समाजको सयोजनमा निःशुल्क मेडिकल क्याम्पहरु गर्ने तथा विभिन्न समयमा नेपालीका लागि स्वास्थ्य सम्बन्धि शिक्षाको लागि जनचेतनामूलक कार्यक्रम गर्ने उल्लेख छ । यसैगरी कुनै पनि नेपाली उक्त क्लिनिकमा उपचारको लागि जाँदा २० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिइने उल्लेख छ । नेपालीका लागि क्लिनिकले कार्डको व्यवस्था पनि गर्नेछ ।
भुर्तेलका अनुसार निःशुल्क मेडिकल क्याम्प बाहेक क्लिनिकमा गएर स्वास्थ्य परिक्षण गराउदा नेपाली समाज युएईको साधारण सदस्य वा आजीवन सदस्यको रसिद उपलब्ध भएको खण्डमा सरल र सुलभ हुने छ । समाजले युएईमा कार्यरत नेपालीहरुलाई नेपाली समाजमा आबद्ध भई सर्वसुलभ सेवा लिई स्वास्थ्य रहन सबैलाई अनुरोध गरेको छ ।
