
काठमाडौं – महानगरिय प्रहरी अपराध महाशाखाले श्रमका निम्ती विदेश हिँडेका एक कामदारलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पहिलोपटक विदेश जान लागेको ति कामदारको पासपोर्टमा रि–ईन्ट्रीको भिसा हानिएको छ । प्रहरी स्रोतका अनुसार वैदेशिक रोजगार व्यवसायीको मिलेमतोमा यस्तो अवैध काम भएको हो ।
विमानस्थलबाट कामदार पक्राउ परेसँगै महानगरिय प्रहरी अपराध महाशाखाले वैदेशिक रोजगार विभागमा पनि छापा मारेको छ । विभागको ताहचलस्थित श्रम स्विकृती शाखालाई नियन्त्रणमा लिएर प्रहरी टोलीले अनुशन्धान गरिरहेको छ । प्रहरी स्रोतका अनुसार कर्मचारीको मिलोमतोबीना अवैध काम हुन नसक्ने भन्दै विभागमा पनि छापा मारिएको हो ।
यस्तै प्रहरी टोलीले गौशलास्थित हिमालय रेन्डपान्डा ट्राभल, किङ अकबर टुर एन्ड ट्राभल र सिटी टुर एन्ड ट्राभल र इन्टरनेशनल ट्रेड लिंकमा पनि छापा मारेको छ । त्यहाँबाट प्रहरी नक्कली होलोग्राम तथा श्रम स्विकृतीको स्टिकरहरु फेला पारेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार यसरी रि–ईन्ट्रीको भिसामा कामदारलाई पठाउने यो पहिलो घटना भने होइन । विभागका ताहचल शाखा प्रमुख शत्रुघ्नप्रसाद साहले अहिले कार्यालय प्रहरीको नियन्त्रणमा रहेको पुष्टि गर्दै प्रहरी अनुसन्धान सकिएपछि कार्यालयको काम सूचारु हुने जानकारी दिए ।
कान्तिपुरबाट