रवि रोषी, दोहा- कतारको सबै भन्दा सम्मानित अमिरी कप भलिवल टुर्नामेन्ट अप्रिल ३० बाट सुरु भएको छ । अप्रिल ३० बाट सुरु भएको सो अमिरी कप मे १३ मा समापन हुनेछ । अमिरी कपकै अवसर पारेर कतार भलिवल एसोसिएसनले यस बर्ष पनि चार देश बीच कम्युनिटी लिग भलिवल प्रतियोगिताको आयोजना गरेको छ । कतारमा कार्यरत विभिन्न समुदायलाई सम्मान साथ सो खेलमा सहभागी गराउन लागेको हो । कतार भलिबल एसोसिएसनले विगत ५ बर्ष देखि अविच्छिन्न रुपमा कतारमा कार्यरत विभिन्न देशका समुदाय बीच भलिवल प्रतियोगिताको आयोजना गर्दै आएको हो ।
यस पटक लीग चरणको भलिवल खेलमा नेपाल, भारत, श्रीलंका र फिलिपिन्स बीच प्रतिस्पर्घा हुने पक्कापक्की भएको छ । अन्य देशसंग हुने प्रतिस्पर्धी खेलमा यसपटक नेपाली समुदायले नेपालबाट ३ जना उत्कृष्ट राष्ट्रिय भलिवल खेलाडीहरु ल्याउने पक्का भएको छ । जसमध्ये संजय अर्याल, कुल बहादुर थापा र इम मगर परेका छन् । यो नेपाली समुदाय कतार र नेपाली खेलाडीहरुको लागि निकै राम्रो अवसर हो, नेपाली समुदायका तर्फबाट संयोजक सागर नेपालले बताए ।
अमिर कप खेल्नको लागि कतारको विभिन्न सपोर्ट क्लवहरुले विश्वका चर्चित भलिवल खेलाडीहरु पनि कतार झिकाईसकेको छ । विभिन्न देशसंगको चरणबद्ध खेलहरुको अंकको आधारमा छनौट भएका देशहरुको फाइनल खेल मे १३ शुक्रवारको समय साँझ ६ बजे बाट हुने कुरा संयोजक सागर नेपालले बताए ।
नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्न कतारमा रहेका सम्पुर्ण खेलप्रेमी नेपाली दाजुभाईलाई स्टेडियममा उपस्थित भई हौसला प्रदान गरिदिन पनि नेपाली समुदायका तर्फबाट संयोजकद्धय सागर नेपाल र बुद्ध गुरुङले अनुरोध गरेका छन् ।
यस खेललाई सफल बनाउन संस्थागत सहयोग गर्ने संस्थाहरुमध्ये चितवन युवा समूह र तमु सेवा समाज दोहा कतार आफ्नो भूमिका निर्वाह गर्ने भएका छन् ।
