सुनसरी- न्यूनतम लागतको विषयबाट पछि नहट्न दवाव दिंदै आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले सरकारले कामदारमारा कुनै निर्णय गरे आमरण अनसन सुरु गर्ने चेतावनी दिएको छ । सुनसरीको ईटहरीमा र्याली पश्चात आयोजित कोणसभाका वक्ताले सो चेतावनी दिए ।
सरकार र व्यवसायीबीच व्यवसायीकैै हितहुने गरी हालै गरिएको छलफल पश्चात उनीहरुले दवाव र्याली निकाल्दै चेतावनी दिएका हुन् । कोणसभामा बोल्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, सुनसरीका अध्यक्ष क्षितिज पौडेलले आफूहरुले सरकारले गत असार २१ देखि लागु गरेको न्यूनतम लागतको समर्थन गरेपनि आफूहरु शुन्य लागतको पक्षपाती भएको धारणा राखे । उनले सरकारले आफूहरुको यो सदासयतालार्ई नबुझे देशभरीका आप्रवासी कामदारका परिवार सहित सडकमा उत्रिने चेतावनी दिए ।
सभामा बोल्दै बैदेशिक रोजगारीबाट फर्केकी कुमारी विकले काम गर्न जानेहरुसँग कुनै रकम लिन नपाइने नियम विपरित रकम उठाउने काम भइरहेको भन्दै त्यसलाई रोक्न सरकारलाई आग्रह गरिन् । उनले यसरी मेनपावर कम्पनीहरुले खुल्लम् खुल्ला लाखौं असुलिरहँदा पनि सरकार मौन बस्नु अचम्म भएको बताइन् ।
कोणसभामा बोल्दै बैदेशिक रोजगारीबाट फर्केकी कमला कटुवाल थापाले आफूहरु संयमित भएर शान्तिपूर्ण आन्दोलनमा रहेपनि सरकारले यसलाई नबुझे आन्दोलन फरक हुने चेतावनी दिइन् । मेनपावर कम्पनीहरुले ठगिरहने र कामदारले धेरै रकम कहिलेसम्म बुझाउनु पर्ने हो भन्दै उनले यसलाई नियन्त्रण गर्न प्रहरीले चलाएको अभियानको आफूहरुले स्वागत गरेको स्मरण गरिन् । उनले यसअगाडी नै आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका तर्फबाट श्रम मन्त्री दीपक बोहरालाई भेटेर समेत आफूहरुको धारणा राखिसकेको र मन्त्रीले फ्रीभिसा, फ्रीटिकटको निर्णयमा पुनर्विचार नहुने आश्वस्त तुल्याएको भन्दै त्यसमा अडिग रहन आग्रह गरिन् ।
र्यालीले ईटहरीको मेनपावर कम्पनीका शाखा र सम्पर्क कार्यालयहरु रहेको मुख्य क्षेत्र घुमेर कामदारलाई नठग्न खवरदारी गरेको थियो । र्यालीका सहभागिहरुले फ्रीभिसा, फ्रीटिकटको प्रभावकारी कार्यान्वयन गर, मेनपावरको ठगि बन्द गर, धेरै रकम लिएर थोरैको रसिद दिने काम बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।