
काठमाडौं – काम गर्न विदेसिनेको युवाको संख्या अनपेक्षितरूपमा घट्न थालेको छ। चैत महिनामा मात्रै काम खोज्न विदेश जाने २० हजार पाँच सय ९५ जनाले कमी आएको छ। एकै महिनामा २० हजारभन्दा बढीले गिरावट आउनुले रोजगार बजारमा केही समयभित्रै संकत पैदा गर्ने देखिएको छ। प्रतिशतमा हिसाब गर्दा विदेसिनेको गिरावट ३९।२० प्रतिशत हुनआउँछ। यो गिरावट निकै ठूलो हो।
प्रत्येक महिना ठूलो संख्यामा विदेशको रोजगारी अवसर गुम्दा केही समयभित्रै आन्तरिक बजारमा चर्को समस्या उत्पन्न हुने संकेत देखिन थालेको छ। खाडी मुलुक र मलेसियामा लागू गरिएको निःशुल्क टिकट र भिसाले सर्वसाधारणमा भ्रम पैदा हुनु तथा सबैभन्दा धेरै नेपाली कामदार जाने मलेसियाले विदेशी कामदार लिन रोक्दा त्यसको प्रत्यक्ष वैदेशिक रोजगारीमा परेको हो।
प्रत्येक महिना विदेशको रोजगारीमा ह्रास आए पनि सरकार मुकदर्शकजस्तै बनेको छ । आन्तरिक बजारमा रोजगारी सिर्जनाका कार्यक्रम शून्यप्रायः छ भने विदेशी बजारमा नयाँ गन्तव्य खोजीको काम हुनै सकेको छैन। विदेशीले कामदार लैजाने प्रतिबद्धता गरेका मुलुकमा समेत सरकारले पठाउन पहलसमेत गरेको छैन । यसबाट युवा बेरोजगारी दर थप बढ्न सक्नेतर्फ रोजगार क्षेत्रका विज्ञले सचेत गराउँदै आएका छन्।
वैदेशिक रोजगार विभागले तयार पारेको पछिल्लो प्रतिवेदनअनुसार गएको चैत महिनामा जम्मा ३१ हजार ६ सय १५ जनाले मात्र वैदेशिक रोजगारीमा जान पाएका छन्। जबकी, गत वर्ष सोही महिनामा ५२ हजार दुई सय १० जना काम गर्न विदेश गएका थिए। आँकडा घटेको तथ्यांक २० हजार पाँच सय भन्दा धेरै हुन आउँछ।
चालू आर्थिक वर्षको नौवटै महिनामा विदेसिनेको संख्यामा ह्रास आएको छ। साउनयता कुनै पनि महिना विदेसिनेको संख्या बढेको छैन । प्रत्येक महिना जाने दर घटे पनि सरकारको अहिलेसम्म एक शब्द पनि औपचारिक भर्सन आएको छैन। रोजगारी सिर्जना गर्ने कार्यक्रम के छ भनेर सरकारले भन्न सकेको छैन।तथ्यांकले गएको चैत महिनामा पनि मलेसिया जानेको संख्यामा भारी गिरावट आएको देखाएको छ।
मलेसियाले नयाँ कामदारलाई लैजाने अनुमति नदिएको भए पनि विदेशी कामदार रोक्ने निर्णय लागू हुनुअघि डिमान्ड आएकालाई भने पठाउन दिएको छ। पुराना डिमान्ड आएका र श्रम स्वीकृति लिएकाहरू नै अहिले त्यता गएका हुन्। मलेसियामा चैत महिनामा जम्मा चार हजार दुई सय ९१ जना गएका छन्।
विदेसिनेको संख्यामा गिरावट आउनुअघि सामान्य अवस्थामा मलेसियामा मात्र २० हजारदेखि ३० हजारसम्म नेपाली जाने गरेका थिए।पछिल्ला केही महिनायता कतार र साउदी अरब जानेको संख्या केही स्थिर रहेकाले मात्रै थोरै राहत मिलेको हो। चैतमा कतारमा १० हजार दुई सय जना गएका छन् भने साउदी अरबमा नौ हजार तीन सय ८२ जना पुगेका हुन्। कतारमा विश्वकप फुटबल खेल आयोजना हुने भएकाले विदेशी कामदारको माग केही मात्रामा बढेको छ।
सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि रंगशाला एवं सडकसहितका पूर्वाधार निर्माणका काम भइरहेका छन्।नेपालका म्यानपावर व्यवसायीले सरकारसँग विभिन्न माग राखी आन्दोलनमा उत्रिंदा विदेसिनेलाई थप असर परेको हो।
खाडी र मलेसियामा जाने कामदारसँग लिने सेवा शुल्क बढाउनुपर्ने, प्रहरी म्यानपावर कम्पनीमा छापा मार्न नपाउनेलगायतका माग राखी गएको महिना लगातार तीन साता म्यानपावर कम्पनी बन्द गरियो। विदेशमा कामदार पठाउने कार्य पनि ठप्प पारिंदा त्यसको असर तथ्यांकमा देखिएको हो। हाल वैदेशिक रोजागारीमा जाने नेपालीको संख्या ४० लाख नाघेको छ। अर्थतन्त्रमा रेमिट्यान्सको योगदान २५ प्रतिशत हाराहारीमा छ।
अन्नपूर्ण पोष्टबाट