सिरहा- वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक जनाले यहाँका बिभिन्न ब्यक्तिसँग लाखौं रकम ठगी गरेका छन् । लहान नगरपाकिला १ का फूलकुमार दासले ठगी गरेका हुन् । उनले दुर्गापुर, फूलकहाकट्टीलगायत गाबिसका ब्यक्तिहरुलाई बैदेशिक रोजगारीका लागि कतारको राम्रो कम्पनीमा पठाइ दिने भन्दै ठगी गरेका हुन् ।
फूलकुमारले दुर्गापुर ३ का शैनी दासलाई कतारको राम्रो कम्पनीको माग आएकोले बैदेशिक रोजगारीमा जान आग्रह गरे । उनले सीट सीमित रहेकोले चाँडै राहदानी र १ लाख ६० हजार रुपैयाँ माग गरे । फूलकुमारले भने अनुसार शैनीले तत्काल साहुसँग ३ प्रतिशत व्याजदरमा ऋण लिएर माग गरे अनुसारको रकम र राहदानी बुझाए ।
रुपैयाँ र राहदानी लिएर गएको केही दिनपछि फूलकुमार सम्पर्क बिहिन बने । उनी सम्पर्क बिहिन भएपछि शैनीले गाउँका मानिसहरुलाई आफू ठगीएको सुनाए । त्यसपछि सोही ठाउँका दीपेन्द्र दासलाई पनि आफू ठगीएको महसुस भयो । दीपेन्द्रले आफ्ना आफन्त फूल्कहाकट्टी ३ का रामकरण दासलाई आफू ठगीएको बारे सुनाए । त्यसपछि रामकरणलाई आफू पनि ठगिएको जानकारी भयो ।
फूलकुमारले कतारस्थित राम्रो कम्पनीमा पठाइदिने भन्दै ठगेको १७ जना पुगेपछि उनीहरुले इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । उनीहरुले आफूहरुसँग २८ लाख ५ हजार ठगी गरेको भन्दै उजुरी दिएका हुन् ।
उजुरी दिएपछि प्रहरीले बैशाख १५ गते फुलकुमारलाई पक्राउ गरेको थियो । तर सोही दिन तारेखमा उनलाई प्रहरीले छाडिदियो । प्रहरीले उनीहरुलाई हालसम्म आश्वासन मात्रै दिदै आएको छ । पीडित रामकरणले न्याय पाउने आशमा प्रहरीमा उजुरी दिएको तर प्रहरीको रबैया हेरेर आश मर्न लागेको गुनासो पोखे ।
ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कबिर प्रधानले फुलकुमारले कति रकम लिएको हो वा होइन् भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । ‘पीडितहरुले केहि रकम फुलकुमारलाई र केही जनकपुरका जाबेद भन्ने दीपक यादबलाई पठाएको अनुसन्धानबाट खुलेको छ’, उनले भने, ‘जाबेदको खोजी कार्य भइरहेको छ र उनी पक्राउ परेपछि थप कुराहरु बाहिर आउँछ ।’ उनले अनुसन्धानबाट देखिएका तथ्यको आधारमा दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए ।
कान्तिपुरबाट