विदेश जाँदा ठिकठाक, फर्किदा सवै गुम्यो 

 

कल्पना भट्टराई, नवलपरासी— नवलपरासीको सुनवल नगरपालिका वडा नं ८ सिरानटोलका २७ बर्षिय आकाश बास्तोला(नाम परिवर्तन)लाई त्यो बेला लागेका थियो विदेशमा गएर धेरै धन कमाउँला । तर विदेशिएको चार बर्षपछि उनी मानसिक समस्या लिएर फर्किएका छन् । त्यसैले आकाशको त्यो सपना चकनाचुर भएको छ । 

साथी भाईले विदेशमा गएर पैसा कमाएको देखेपछि उनी पनि विदेश जान कस्सीए । २०६८ सालमा एजेण्ट मार्फत मलेसिया पुगेका आकाशले त्यहिं मानसिक सन्तुलन गुमाए । विदेश जाँदा ठिकठाक गएका उनी फर्किदा अस्वस्थ भए । 

डेढ बर्ष अघि घर फर्किएका आकाश अहिले बन्द कोठामा बसेर एकोहोरो टोलाई रहन्छन् । मान्छे देख्ने बित्तिकै चिढिने र झर्किने गर्छन् । उनको त्यो व्यवहारले परिवारका सदस्यहरु पीडामा छन् । ‘कमाउन गएको छोरो रोगि भएर फर्किएला भन्ने कहिल्यै सोचेनौ’, उनका बुवा हरि बाँस्तोला भन्छन्, ‘छोरोको त्यो अवस्था देख्दा मन भक्कानिन्छ ।’

कम्पनीको काममा गएका आकाशले अढाई बर्षसम्म कमाएको पैसाले एउटा घर जोडे । त्यसपछि उनमा एक्कासी मानसिक समस्या देखा प¥यो । आकाशमा मानसिक समस्या देखा परेपछि विदेशमा भएर साथीहरुले घर फर्काउन सहयोग गरेका थिए ।

वैदेशीक रोजगारीमा गएर मानसिक रोग निम्त्याउने अकाश एक्ला व्यक्ति होइनन् । विदेश गएका थुप्रै युवा मानसिक रोगको शिकार भएका छन् ।

नवलपरासीको तिलकपुर गाविस वडा नं ८ दगियाका २२ बर्षिय कबारक मिया(नाम परिवर्तन)ं विदेश गएको तीन महिनामै घर फर्किए । २०७१ पुसमा कतार गएका मिया डेढ महिनासम्म ठिकठाक थिए । त्यसपछि मानसिक समस्या देखा पर्न थालेपछि कम्पनीले उनलाई घर पठाईदियो ।

ट्रकको सहचालकको काम छोडेर एक लाख २० हजार तिरेर कतार पुगेका मियाले विदेशको परिवेश पनि राम्रोसँग बुझ्न पाएनन् । परिवारलाई ऋणमुक्त गराउन विदेश हान्निएका मियाले गएको ऋण समेत तिर्न सकेनन् । 

मानसिक समास्याका कारण उनी परिवारका सदस्यसँग कुराकानी नगर्ने, बन्द कोठामा लामो समयसम्म टोलाएर बस्ने, रिसाउने र झर्किने गर्छन् । उनको यस्तो व्यहारले आफ्नो मन दुख्ने गरेको उनकी आमा खैतुन मियाले बताइन् । 

त्यस्तै, नवलपरासीको दक्षिण भारतीय सीमासँगै जोडिएको गाविस हरपुर–८ मुडेराका २३ वर्षका विजयकुमार गुप्ता (नाम परिवर्तन्) धेरैजसो समय टोलाएर बस्छन् । शारीरिक रुपमा ठिकै देखिएका विजय मानसिक रुपमा भने अस्वस्थ छन् । दुई वर्षअघि प्लाष्टिक कम्पनीको कामका लागि मलेसिया पुगेका विजयले प्लाष्टिकका बोतल काट्ने काम गर्नुपर्यो । 

मलेसियाका लागि उड्दै गर्दा उनलाई म्यानपावरले महिनाको २५ हजार कमाई हुन्छ भनेका थिए । तर कम्पनीले उहाँलाई महिनाको १५ हजार भन्दा दिएन । एक लाख २२ हजार तिरेर मलेसिया गएका विजयले भनेको काम र तलब पाएनन् । त्यही काम पनि गर्न नजानेर हैरानी खेप्नुपर्यो । 

‘सानो सानो प्लाष्टिक काट्ने भनेको थियो, तर बोतल काट्नु पर्यो । सुरु सुरुमा त नजानेर हातै पोल्थ्यो काट्नै नसकिने’ उनले भने । रामनगरका एकजना एजेन्ट मार्फत मलेसिया गएका विजयले काममा खट्न निकै गाह्रो भएपछि आफ्नो समस्या कम्पनीमा राखे । 

कम्पनीकोसँग आफ्नो सम्झौता अनुसार काम नभएकोले अर्को काम र तलबको माग गरे । तर सम्झौता अनुसार काम र तलब दिनुको सट्टा उसले घर फर्किने बाटो देखाइदियो । 

अनि अर्को काम लगाइदिने भन्दै पुर्याइदियो सेल्टरमा । हुन त कम्पनीले उनलाई पानी जहाजबाट सामान निकाल्ने काम गर्न क्वालालम्पुरमा रहेको बन्दरगाहमा पठाउने भनेको थियो । तर कम्पनीले अन्तै काम लगाईदिने भनेर सेल्टरमा पठाएको रहेछ । सेल्टरमा पुगेपछि उनलाई खान बस्नै समस्या हुन थाल्यो । 

परिवारको गर्जो टार्न भन्दै कमाउन परदेश आएको । ऋण खोजेको एक लाखको वर्षको ५० हजार त व्याज मात्रै तिर्नुपर्ने हुन्छ । यस्ता धेरै कुरा दिमागमा आउन थालेपछि विजय एकोहोरिन थाले । हुन त उनीसेल्टरमा हुँदा काठमाडौंबाट उनलाई मलेसिया पठाउने कस्तुरी मेनपावरको मान्छे भेट्न पनि गएका थिए । तर ठिक छ अहिले घर जाउ पछि अर्को देश पठाईदिन्छु भन्ने आश्वासन दिएर फर्किए । तर विजयको मानसिक अवस्था त्यसबेलासम्म कमजोर भईसकेको थियो । 

‘मेरो दिगमागमा विदेश जाँदा लागेको ऋण अनि बुढा भएका बुबाआमाको सम्झना मात्रै आइरहन्थ्यो त्यसैले एकदम तनाव हुन्थ्यो’ विजय भन्छन् । 

मानसिक अवस्था कमजोर भएर एक महिना २२ दिनमै घर फर्किए । अहिले उनको उपचार भइरहेको छ । सामी परियोजना अन्तर्गत लिएको मनोसामाजिक परामर्शले विजयको अवस्था सुधार भइरहेको परिवारले जनाएको छ ।

सुरक्षित आप्रवाशन परियोजना(सामी)को तथ्यांक अनुसार नवलपरासीमा डेढ बर्षको अवधीमा १५ जाना युवामा मानसिक समस्या भएर घर फर्किएका छन् । तथ्यांकमा १५ जना भएपनि संस्थाका सम्पर्कमा नआएका युवाहरुको संख्या धेरै हुन सक्ने सामी परियोजना सञ्चालन गरिरहेको गैरसरकारी संस्था ईन्द्रेणीकी सामी परियोजना संयोजक उमा पौडेलले बताइन् । पौडेलका अनुसार खाडीका देशमा चर्को गर्मी, फरक भाषा, धर्म, संस्कृती तथा सम्झौता अनुसारको काम नहुँदा वा काम गर्न नसक्दा, बढी समय गर्नुपर्दा र घरपरिवारको बारेमा चिन्ता बढी लिदा युवहरुमा मानसिक समस्या देखा पर्ने गरेको देखिएको छ । 

मानसिक समस्याको पहिचान भइसकेपछि उपचार र मनोविर्मश गरेमा मानसिक समस्या समाधान हुने परियोजनाका मनोपरार्मशकर्ता सुमित्रा चौधरीले बताइन् । मानसिक रोग निको भइसकेपछि पनि विगतकै घटना दोहोर्याउँदा, परिवामा असहज वातावरण भएमा, लागुऔषध सेवन गरेमा, औषधी नियमित सेवन नगरेमा र सामाजिक विभेद तथा लाञ्छना लगाएमा पुन समस्या बल्झिने चौधरीले बताइन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय