कावासोती- विदेशमा गएर फर्केकाले घर आएपछि के गर्लान् भन्दा धेरैको जवाफ आउछ घरघडेरी जोड्ने, सुखसँग जिन्दगी बिताउने । तर योभन्दा भिन्न छन् इजरायलमा ११ महिना काम गरेर फर्केका कुमारवर्ती–६ गोछडाचोकका दामोदर लामिछाने ।
साना किसान सहकारी संस्थामार्फत कृषिका लागि इजरायल गएका यी ३१ वर्षीय युवा घर आएपछि पनि त्यत्तिकै बसेका छैनन् । इजरायलमा सिकेको कृषिको सीपलाई नेपाली माटोमा प्रयोग गरेर काम गरिरहेका छन् ।
विदेशको कमाईले गोछडामा प्रतिकट्ठा वार्षिक दुई हजारका दरले भाडामा १५ कट्ठा जग्गा लिएर उनले त्यहाँ मौसमी र बेमौसमी तरकारी खेती गर्न थालेका हुन् । खाडी मुलुकमा समेत थोपा सिँचाइबाट कृषिमा भएको उन्नतिले गर्दा मलाई घर फर्केपछि पनि काम नगरी बस्नै मन लागेन । उनले भने “इजरायलको कृषि आधुनिकीकरणले मेरो मन छोयो ।”
विदेशमा सिकेको सीप युवाले प्रयोग नगरे कसले गर्छ भन्ने कुराले उनलाई घच्घच्याउँदै कृषिमा लाग्न प्रेरित ग¥यो । जग्गा भाडामा लिएदेखि माटोको परीक्षण गरी उर्वरा शक्ति बढाएर उनले बारीमा ड्याङ लगाएर करेला, गोलभेंडा, काँक्रो, फर्सी, घिरौंला लगायतका तरकारी लटरम्म फलाएका छन् । कृषिले नै दिगो रोजगार हुने बुझाइ भएकाले नै तरकारीखेतीमा लागेको दामोदर लामिछानेले बताए ।
तरकारीखेतीले राम्रो आम्दानी दिने भएपनि सिँचाइका लागि बोरिङ अनि आवश्यक मजदुरको समस्याले भने उनलाई सताउने गरेको छ । दैनिक सात-आठ सय रुपैयाँ दिँदा पनि काम गर्ने मजदुर नपाउँदा भने काममा चुनौती हुने गरेको उनले बताए । युवा खाली बस्न तयार हुने तर कृषि काम गर्न हिम्मत नगर्दा मजदुरको अभाव भएको हो । उनले भने, “विदेशमा जे काम गर्न पनि तयार हुने हामी घर आउँदा लाहुरे हुने समस्या छ ।”
अहिले उनको बारीमा नौ सय बोटमा नौ क्विन्टल गोडभेँडा छ । तर बजारको दर भाउले उनलाई पाकेका गोडभेँडा टिपुँ कि नटिपुँको अवस्थामा पु¥याएको छ । सरकार र समाजका कारण बजारीकरणको समस्याले पिरोल्ने भए पनि हरेस नखाएर काममा लागेको उनले बताए ।
विदेशको सीप र स्वदेशमा प्रयोग गर्ने युवालाई प्रोत्साहन गर्दै कृषि उत्पादन वृद्धि गर्दा मुलुकले आर्थिक विकास गर्ने मात्रै होइन युवालाई पनि स्वरोजगार बनाउँछ । त्यसैले कृषि उद्यममा लागेका युवाको कामलाई सहयोग पु¥याउन जरुरी भएको युवा उद्यमी विक्रम पाण्डे बताउछन् । रासस