
काठमाडौं, बैशाख ९- खाडीका ६ मुलुक र मलेसियामा रोजगारीका लागि जाने कामदारसँग लिइने शुल्क खारेज गर्नुपर्ने माग गर्दै सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले व्यवस्थापिका संसद सदस्यहरुलाई पत्र पठाएको छ । सञ्जालले कामदारसँग बैदेशिक रोजगारीमा जाने क्रममा कुनै शुल्क लिन नपाइने अन्तराष्ट्रिय मान्यता विपरित हाल लिंदै आएको अधिकतम १० हजार शुल्क समेत खारेज गर्न माग गरेको हो ।
सञ्जालका तर्फबाट अध्यक्ष सिद्धिचन्द्र बराल, महासचिव अशोक राना तथा प्रवासी नेपाली समन्वय समिति कुलप्रसाद कार्कीले संसद सचिवालय पुगेर पत्र बुझाए । सञ्जालले फ्रीभिसा, फ्रीटिकटका पक्षमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
देशपरदेश डटकमले म कामदारको पक्षमा अभियान झण्डै एक महिनायता सञ्चालन गर्दै आएको छ । सो अभियान अन्तर्गत स्वदेश तथा विदेशबाट सयौं व्यक्तिले फ्रीभिसा, फ्रीटिकटको पक्षमा आफू रहेको सन्देश सहित तस्वीरहरु पठाएर ऐक्यवद्धता जनाइरहेका छन् ।