मजदुर आफैंले बनाए १ करोडको कोष, गम्भीर स्वास्थ्य समस्यामा सहयोग गर्ने

काठमाडौं, बैशाख ३- पछिल्ला केहि बर्षयता मुटु सम्वन्धि रोग, क्यान्सर वा मृगौला खराव हुने समस्या निक्कै बढेर गएको छ । त्यसमा पनि न्यून आम्दानी हुने मजदुरलाई यस्तो असाध्य रोग लागेपछि के गर्ने ? 

नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) आवद्ध श्रमिकका लागि अव यसको उत्तर सहज भएको छ । ऐक्यवद्धता कोषले थोरै भएपनि मद्धत गर्नेछ । जिफन्टले केन्द्रले ५० लाख हाल्ने र बाँकी घटक यूनियनहरु र मातहतका कमिटीहरुले प्रति कमिटी २५ हजार जम्मा गर्ने अभियान अन्तर्गत १ करोड १६ लाख भन्दा बढीको कोष बनेपछि यसको सञ्चालनका बारेमा जिफन्टले छलफल गरेको छ ।  

छलफलमा बोल्दै जिफन्ट अध्यक्ष विष्णु रिमालले ऐक्यवद्धता कोष जिफण्टले सञ्चालन गरिरहेका अन्य कोष भन्दा फरक रहेको बताए । उनले जिफण्ट तथा आवद्ध घटक यूनियनहरुले विभिन्न प्रकारका भलाई कोषहरु सञ्चालन गरिरहेको भन्दै गम्भीर प्रकृतिका स्वास्थ्य समस्या परेका श्रमिकलाई यसले सहयोग गर्न सकिने बताए । १ करोड रकम हेर्दा धेरै भएपनि सहयोग गर्नका लागि त्यो धेरै ठूलो रकम नभएको रिमालको भनाई थियो । 

छलफलमा बोल्दै जिफन्टका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले १ करोड सहितको कोष स्थापनामा सफलता मिलेको भन्दै छलफल गरेर यसलाई व्यवस्थीत रुपमा अगाडी बढाइने बताए । उनले विगतमा जिफन्टले कतिपय कोष उत्साहका साथ सुरु गरेपनि राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दैै ऐक्यवद्धता कोषलाई व्यवस्थीत रुपमा सञ्चालन गरिने बताए । कार्यवाहक अध्यक्ष जोशीले कोषको सहयोगको लक्ष्य स्वास्थ्य र शिक्षा रहेको भन्दै त्यसमध्ये पनि प्रमुुख विषय स्वास्थ्य नै भएको बताए । 

सो अवशरमा जिफण्ट उपाध्यक्ष विदुर कार्की ऐक्यवद्धता कोषलाई सुरुमा स्वास्थ्यलाई नै केन्द्रमा राखेर अवधारणा बनाइएको भन्दै रोगको हिसावले भन्दा पनि विरामीको अवस्थालाई हेरेर सहयोग गर्ने आधार बनाउनु पर्ने धारणा राखे । निर्माण र यातायात क्षेत्रमा धेरैको कलेजो विग्रिने समस्या देखिएको भन्दै उपाध्यक्ष कार्कीले कुनै निश्चित रोगमा मात्र सहयोग गर्ने भनेर कोषलाई सिमित गर्न नहुने धारणा राखे । 

सो अवशरमा जिफन्टका महासचिव विष्णु लम्सालले ऐक्यवद्धता कोषमा रकम जम्मा गर्ने भनेको आफैंले त्यसबाट सहयोग पाउनुपर्छ भन्ने कसैले नठान्न आग्रह गर्दै प्राप्त सुझावका आधारमा कोष सञ्चालनको नियमावली बनाउने बताए । 

विगतमा अघिल्लो दिन सदस्य भएर भोलीपल्टै सहायताको माग गर्ने गरिएका कारण अप्ठ्यारो अवस्था आएका कारण कोषलाई कसरी टिकाउ बनाउन सकिन्छ भन्ने बारेमा पनि सोच्न आवश्यक रहेको महासचिव लम्सालको भनाई थियो । 

जिफन्टका पूर्व महासचिव समेत रहेका ट्रेड यूनियन पोलिसी ईन्स्टिच्यूटका कार्यकारी निर्देशक उमेश उपाध्यायले कोषलाई स्वास्थ्यमै केन्द्रीत गर्नु राम्रो हुने भन्दै अहिले शिक्षातिर नलाग्न राम्रो हुने बताए । उनले असाध्य रोग तथा अशक्ततामा केन्द्रीत हुनु राम्रो भन्दै ऐक्यवद्धता कोषलाई प्रकोपमा पनि नलगाउनु उचित हुने धारणा राखे । 

छलफलमा जिफण्टका सचिव रमेश बडालले ऐक्यवद्धता कोषमा महासंघको केन्द्रले ५० लाख जम्मा गरेको भन्दै घटक यूनियन तथा मातहतका कमिटीहरुबाट ६५ लाख ५० हजार जम्मा हुनु उत्साहप्रद भएको धारणा राखे । उनले जिफण्टको सदस्य मात्र सहयोगको हकदार हुन उपयुक्त हुने भन्दै सदस्य भएको भोलीपल्टैै सहयोगका लागि दावी गर्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने बताए । 

छलफलमा सहभागि हुँदै विभिन्न घटक यूनियन तथा अञ्चल अध्यक्षहरुले आफ्ना सुझाव दिए । उनीहरु मध्ये बहुसंख्यकले उपचारलाई प्राथमिकता दिनुपर्ने भन्दै असाध्य रोगहरुमा मात्र नभई ठूला प्रकृतिका रोगका अप्रेसनहरुमा पनि सहयोग गर्न आग्रह गरे । 

यसैगरी उनीहरुले कोषमा रकम जम्मा हुने क्रमलाई आगामी दिनमा पनि जारी राख्न पनि सुझाव दिए । कोषका तर्फबाट एकपटक सहयोग गरिसकेपछि अर्कोपटक पुनः सोही व्यक्तिलाई सहयोग नदिने व्यवस्था गर्न पनि उनीहरुले आग्रह गरे । महासंघका हाल झण्डै १८ सय कमिटीहरु रहेको भन्दै सहभागिहरुले कोषमा थपिंदै जाने रकम बढ्दै गएपछि सहयोग गर्न सकिने दायरा पनि बढाउन सकिने धारणा राखे । कोषमा हालसम्म २ सय ६४ वटा कमिटीहरुले प्रति कमिटी २५ हजारका दरले सहयोग गरिसकेका छन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय