सुदीप निउरे , चैत २९ ,क्वालालम्पुर- मलेसियामा दुई जना नेपालीमाथि साढे ६ बर्षको कैद सजाय सुनाइएको छ । हत्या आरोपमा लामो समय देखि प्रहरी हिरासत रहेका मन बहादुर बिष्ट र बुद्धि बहादुर थापामाथि यो कैद सजाए सुनाइएको हो । पहल सिं कामी (राहदानी नम्वर ०५९९१७८४) नाम गरेका नेपालीको हत्या गरेको आरोपमा उनीहरु माथी मुद्धा चल्दै आएको थियो । उनीहरु दुबै जना २ बर्ष ६ महिना अघिदेखि प्रहरी हिरासतमा रहंदै आएका थिए ।
मलाया उच्च अदालत पाहाङ तेमेरलोहले गत शुक्रबार अन्तिम फैसला गर्दै बिष्ट र थापा मिलेर कामीको हत्या गरेको पुष्टी गर्दै सार्बजनिक अपराध बमोजिम उनीहरुमाथी कैद सजाए सुनाएको हो ।
हत्यामा संलग्न भनिएका दुबै जना र मृतक कामीको नेपालस्थित स्थाई ठेगाना भने खुलाईएको छैन ।साढे ६ बर्षको जेल सजाय सुनाइएका उनीहरु साढे २ बर्ष अघिदेखि प्रहरी हिरासतमा रहंदै आएकाले अब ४ बर्ष पछि उनीहरु मुक्त हुने जनाइएको छ ।
कामीको शब सन २०१३ डिसेम्बर २९ मा कामपुंग् राजा क्यामरुन हाईल्याण्डको स्टबेरी केन्द्रमा भेटीएको थियो । कामी हिलिरान विन कम्पनीको कामदार भएको खुलाइए पनि उनीहरु संगै काम गर्ने साथि भएको नभएको बारेमा केहि खुलाइएको छैन । एक आपसमा झगडा भएको बेला दुइजना मिलेर हत्या गरेको देखिन आएको उच्च अदालत पाहाङले जनाएको छ ।
मलेसियाको दंड संहिताको धारा ३ सय २ अन्र्तगत हत्याको सजायस्वरुप फांसी तथा हत्याको प्रकृति हेरी ३० बर्षको कैद सजाए हुन्छ । हत्यामा संलग्न दुबै जनाले आफ्नो गल्ती स्वीकार गर्दै क्षमा याचना गरेपछि अदालतले कैदको समयमा कतौटी गरी १० बर्षमा झारेको बताइएको छ । १० बर्षको कैद सजायमा थप एक तिहाई कैद सजाय छुट पाएपछि उनीहरुले साढे ६ बर्षको कैद सजाय काट्नै पर्ने भएको हो । उनीहरुको मुद्धा टुङगिन् साढे २ बर्ष लागेपछि अब बिष्ट र थापा ४ बर्षपछि कैद मुक्त हुने छन् ।
