विदेशमा पटक-पटक बेचिएर बल्लतल्ल नेपाल

मेरो बुवाआमा आर्थिक रुपमा कमजोर हुनुहुन्छ । हामी परिवारमा धेरै थियौं । तीनछोरी मध्ये म माइली हुँ । त्यसैले एकजना चिनेको मान्छे(अमरबहादुर विक) ले लेवननमा काम गर्न जाने अवशर छ, कमाई पनि धेरै हुन्छ भन्यो । म भर्खरै १५ बर्ष पुगेकी थिएँ । मेरो आमावुवालाई पनि छोरीलाई त्यसै किन घरमा राख्छौ, कमाएर ल्याउँछे भनेर उसैले राजी गरायो । काम नगरी खान पाइने अवस्था पनि थिएन । त्यसैले म उनले भनेको अनुसार काम गर्न जान राजी भएँ । 

मेरो नागरिकता, पासपोर्ट सवै उसैले बनाइदियो । त्यसपछि त्यो मान्छेले मलाई भारतको सीतामडी भन्ने ठाउँसम्म लिएर गयो । अनी विमल बराल भन्ने मान्छेको जिम्मा लगाइदियो । विमल र उसको श्रीमतिको साथ लागेर म दिल्ली पुगें । 

मलाई लगिएको ठाउँमा अरु ८ जना पनि केटीहरु थिए । त्यहाँ पुगेपछि थाहा भयो हामीलाई लेवनन होइन कुवेत लगिंदै छ भनेर । त्यहाँ पुगेपछि मैले नाइनास्ती गर्न सकिन । आखिर काम गर्ने त हो, जहाँ लगेपनि भन्ने जस्तो पनि लाग्यिो । हामी त्यहि रात कुवेतका लागि उड्यौं । 

कुवेतमा अफिसमा गएपछि हामी चारजनालाई एउटा गाडीमा हालेर घण्टौंको यात्रापछि एक ठाउँमा पु¥याएर त्यो गाडी फर्कियो । मरभूमिको बीचमा रहेको त्यो घरमा म एक्लै रहें । अरुलाई त अन्तै लग्यो । तीन तल्ले त्यो घरको सरसफाई गर्ने काम मेरो भयो । मैले त्यहाँ धेरै नै दुःख पाएँ । 

जसोतसो एकमहिना काम गरेपछि मैले मेरो तलव त्यहिं काम गर्ने अर्को एक महिला मार्फत मागें । तर मालिकले मलाई किनेर ल्याएको हुनाले कुनै तलव नदिने बतायो । म छक्क परें । त्यसपछि म रोइरहन थालें । उनीहरु मलाई जथाभावी कुटपीट गरिरहन्थे । ८ महिना यसरी नै वित्यो । त्यसपछि तिनिहरुले मलाई अर्को एक अफिसमा लगेर बुझाइदिए । पछि बुझ्दा त्यहाँ मलाई उनीहरुले बेचेका रहेछन् । 

फेरी उहि चक्र सुरु भयो । अर्को एक मान्छे आएर मलाई किनेर लग्यो । मलाई त्यसपछि ईजिप्ट लगिएछ । त्यहाँ बस्दा मैले एकजना पनि नेपाली भेटिन । त्यस्तो ठाउँमा लगेर मलाई बन्दी जस्तै बनाएर काम लगाईयो । त्यो देशमा त कोहि पनि नेपाली जाँदा रहेनछन् जस्तो लाग्छ । त्यहाँका मान्छेले कुवेत आएर नै घरेलु कामदार लैजाँदा रहेछन् । त्यहाँ पनि मैले तलव माग्दा तँलाई मैले किनेर ल्याएको हो, के को तलव भन्थ्यो । उनीहरुले मेरो तलव एजेण्टलाई सुरुमा नै एकमुष्ट दिएको बताउँथे । 

म त्यसरी नै ६ बर्षसम्म ईजिप्टमा बसें । मेरो पासपोर्टको म्याद सकिएछ । त्यसपछि मलाई लिएर कुवेत आए । त्यो मान्छेको छोरीको घर थियो कुवेतमा । म उसको छोरीको घरमा काम गर्न थालें । म काम गर्ने भन्दा माथिल्लो तल्लामा एकजना नेपाली महिला काम गर्थिन । उनले कुवेतमा नेपाली दुतावास भएकाले भागेर त्यहाँ पुग्न सल्लाह दिइन् । घरबाट भागेर बाहिर निस्केपछि ट्याक्सी चढेर नेपाली एम्वेसी भन्नु पुर्याइदिन्छन् भनिन् । म त्यहि मौका छोपेर बसें । 

एकदिन घरको फोहोर फ्याँक्न जाने निहुँ पारेर म घर बाहिर निस्के । त्यसपछि म बेतोडले दौडिएँ । केहिपर एउटा ट्याक्सी भेटें र आफूलाई नेपाली एम्वेसी पुर्याइदिन भनें । ट्याक्सी चालक पञ्जावी रहेछ, उसले कुरा बुझिहाल्यो, उसले मलाई दुतावास पुर्यादिइदियो ।     

मसँग त्यो कुवेतमा घर भएको छोरीको नम्वर थियो । दुतावासले उनीहरुलाई बोलाएर ६ बर्षको तलव किन दिइनस् भन्यो । तर उनीहरुले म उनीहरुसँग गएमा सवै तलव दिने कुरा गरे । तर दुतावासको कर्मचारीले त्यसरी जानुहुन्न मारिदिन्छन् भनेपछि म जान्न भनें । उनीहरुले मेरो पासपोर्ट फिर्ता दिन मानेनन् । त्यसैले म १ महिना ८ दिन कुवेतको जेलमा बसें । 

त्यसपछि दुतावासले कागज बनाइदियो र नेपाल फर्के । कुवेत र ईजिप्टमा बस्दा घर फर्किन पाउँछु होला भन्ने एकमन पनि थिएन । त्यो ठाउँमा मारेर फालिदिएको भए कसले थाहा पाउँथ्यो र ? 

म यसरी धेरै बर्ष हराएपछि मेरो बाबुआमा र बहिनीले मेरो बारेमा सोधखोज गर्न थालेछन् । प्रहरी लगाएर पक्रिने भनेपछि मलाई पठाउने नेपालको एजेण्ट अमर विकले लौ तिम्रो छोरी कमाएर पठाएको तलव भन्दै १ लाख लिएर आएका रहेछन् । तर मेरो बुवाआमाले छोरीसँग कुरा गराइदे भन्नुभएछ । उसले कुनै नक्कली आवाज रेकर्ड गरेर ल्याएर समेत सुनाएछ । 

म नेपाल फर्केपछि हरिवनमा भएको सुचना केन्द्रमा गएर निवदेन दिएँ । उहाँहरुको मद्धतले अमर बिकलाई पक्राउ गरिएको छ । उ अहिले प्रहरी थानामा छ । तर मलाई लैजाने अर्को दलाल विमल बराललाई भनें पक्रेको छैन । त्यसलाई नपक्रिएसम्म त्यसले अरुलाई पनि मलाई जस्तै लगेर बेच्नेछ । त्यसैले त्यो मान्छेलाई पक्राउ गर्न सवैले सहयोग गरिदिनुहुन्छ भन्ने आशा राखेकी छु । 

गाउँमा सवैले सहयोग गर्दैनन् । फलानाकी छोरी बेचिएर आएकी भन्छन् । मैले त्यहाँ कति दुःख पाएँ भन्ने कुरा कसैले बुझ्दैनन् । त्यसैले अव त आफ्ना कुरा भन्न पनि मन लाग्दैन । 

मैले क्षतिपुर्ति सहितको कानूनी न्याय पाउँ भनेर निवेदन हालेकी छु । नेपाल फर्केपछि पनि रोजगारीको कुनै बाटो छैन । मलाई कुनै तालिम सिकेर आफ्नै काम गर्ने मन छ । कसैले सहयोग गर्ला की ?    

(देशपरदेशसँगको कुराकानीमा आधारित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय