
मोरङ- मोरङका विभिन्न खोलाको किनारमा बसोबास गर्दै आएका किसानले बगरमा तरकारीखेती गरी राम्रो आम्दानी गर्न थालेका छन् । रङ्गेली नगरपालिका–९ का ३५ वर्षीय छेदनलाल मण्डलले चिसाङ खोलाको बगरको दुई बिघा जमिनमा तरकारी लगाएर राम्रो आम्दानी गरेका छन् ।
मण्डलले दुई लाख रुपैयाँ लगानीमा गत वर्षको मंसिरदेखि वैशाखसम्ममा छ लाख रुपैयाँ आर्जन गरेको बताए । यो वर्ष पनि पाँच लाख रुपैयाँ आर्जन गरिसकेको मण्डल बताउँछन् । उनले काँक्रा, तीतेकरेला, फर्सी, लौका, तरबुजासमेत रोपेका छन् । “जान्यो भने बगरमै पैसा फल्नेरहेछ”, उनले भने । छेदनलाल मात्रै हैन, रङ्गेली–९ का बुनीलाल मण्डल, धीरज मण्डल र रामखिलान मण्डलले पनि बगरमा तरकारीखेती गरेर राम्रो आम्दानी लिइरहेका छन् ।
बुनीलालले एक लाख लगानीमा एक बिघामा धीरजे दुई लाख लगानीमा दुई बिघामा रामखिलानले एक लाख लगानी गरी एक बिघा क्षेत्रफलमा तरकारीखेती गरेका छन् । उनीहरुले गत वर्ष तीनदेखि छ लाख रुपैयाँसम्म आम्दानी गरेको बताए । उनीहरुले तरबुजा, काँक्रा, तीतेकरेला, फर्सी, लौका फलाएर आम्दानी गर्नु सफल भएका हुन् ।
त्यस्तै, महादेवा गाविसमा दुईसय जना किसानले १४-१४ जनाको समूह बनाएर बगरमा व्यावसायिक तरकारीखेती गरिरहेको किसान रमेश ताजपुरिया बताउँछन् । उनी लगायत दुईसय जनाले बक्राखोलाको १५ बिघा बगरमा वार्षिक १० लाखको लगानीमा तरकारी लगाएर करिब २० लाख रुपैयाँ आम्दानी लिँदै आएका छन् ।
त्यस्तै, पथरीका किसान प्रकाश पोखरेल, सुलभ कार्की, कृष्ण ढुङ्गानालगायत झन्डै दुईसय जनाका कृषकले जनही ७० हजार लगानी गरी पथरी खोला बगरमा सिमसाग लगाएर प्रत्येकले वार्षिक तीन लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । उता, पथरी खोलाको १० बिघा बगरमा, रङ्गेली नगरपालिका र महादेवा गाविसका किसानले डाँस खोलको नौ बिघा बगरमा, बक्राहा खोलाको १५ बिघा बगरमा, र सीता खोलाको पाँच बिघा बगरमा तरकारीखेती गरिरहेका छन् ।
बालुवामा तरकारी फलाउने सोच राखेर खोलाको आसपासमा बस्दै आएका युवा सिमसाग खेतीमा लागेकोे जिरी खिम्ती–१ का किसान बाबुराम ढुङ्गाना बताउछन् ।
कारोवारबाट