
रञ्जना लम्साल, नवलपरासी, चैत्र २६
घटना १
नवलपरासीको कावासोतीका दिलबहादुर मगर र कृष्णबहादुर सापकोटा ड्राईभर काममा साउदी उडेको तीन महिना भयो । मासिक १ हजार ८ सय साउदी रियाल तलव हुने भनेपछि उनीहरु प्रतिव्यक्ति १ लाख ३० हजार बुझाएर गएका थिए । तर त्यो सवै झुट्टो बाचा थियो भन्ने उनीहरुले साउदी पुगेपछि मात्र पत्तो पाए । उनीहरुलाई नेपालमा भनिए अनुसारको तलव सुविधा थिएन ।
घटना २
नवलपरासीकै गोपाल बाचे र कृष्ण बाचे जनही १ लाख बुझाएर साउदी अरव पुगेका छन् । उनीहरु गएको पनि तीन महिना वित्यो । तर उनीहरुलाई पनि नेपालमा भनिए अनुसारको कमाइ नभएपछि उनीहरुका परिवार सहयोग माग्दै कावासोती स्थीत सुचना तथा परामर्श केन्द्रमा आएका छन् ।
घटना ३
नवलपरासीका भीमबहादुर गुरौ ३ लाख तिरेर आजाद भिषामा कतार पुगेका थिए । तर त्यहाँ काम नपाएपछि र पाउने गरेको काम पनि बेठेगानको भएपछि उनी नेपाल फर्किए ।
बैदेशिक राजगारीका लागि खाडीका ६ मुलुक र मलेशिया जान चाहने कामदारसँग अधिकतम १० हजार मात्र लिन पाउने सरकारी व्यवस्थाको नाङ्गो उल्लंघन भइरहेको बुझाउन यी पर्याप्त उदाहरण हुन् । सरकारले गत असार २१ देखि लागु गरेको फ्रिभिसा, फ्रिटिकट कार्यान्वयन नभइरहँदा प्रहरीले गरेको अनुसन्धानलाई समेत प्रभावमा पार्नेगरी हाल बैदेशिक रोजगार व्यवसायीहरु आन्दोलनमा उत्रिनुले उनीहरुको नियत समेत प्रष्ट हुन्छ ।
त्यसरी बढी रकम तिरेर बैदेशिक रोजगारीमा गएकाहरुले गन्तव्य मुलुकमा पुगेपछि नेपालमा भनिए अनुसारको काम र दाम नपाएको भन्दै उजुरी लिएर सुचना तथा परामर्श केन्द्रमा आउने उनीहरुका आफन्तको संख्या बृद्धि भएको केन्द्रले जनाएको छ । केन्द्रमा पछिल्लो तीन महिनामा १५ जना भन्दा बढीको सोही प्रकृतिको घटना दर्ता भएको छ ।
त्यसरी समस्यामा परेर सहयोगका लागि आएकाहरुले घटीमा ९० हजार देखि बढीमा ३ लाखसम्म तिरेर गएको र उनीहरुको उद्धारमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
हाल बैदेशिक रोजगार व्यवसायीहरु हाल तोकिएको अधिकतम लिन पाउने रकम १० हजारलाई बढाएर ४० हजारको हाराहारीमा पुर्याउनु पर्ने भन्दै सरकारलाई दवाव दिइरहेका छन् । केहि समय आफ्ना कार्यालय बन्द गरेर तथा पूर्व स्वीकृति र अन्तिम स्वीकृतिको काम रोकेर बसेका उनीहरु श्रम तथा रोजगार मन्त्री आफूहरुका माग पुरा गर्न सकारात्मक देखिएको भन्दै आन्दोलन रोकेर काममा फर्केका छन् ।
व्यवसायीको आन्दोलन पश्चात पूर्व निर्णयबाट पछि नहट्न सरकारलाई दवाव दिंदै गैरसरकारी संघसंस्थाहरुले पनि दवावमूलक अभियान सञ्चालन गरिरहेका छन् । यसअघि देशपरदेश डटकमले दुई साता अगाडी देखि नै म कामदारको पक्षमा भन्ने अभियान सञ्चालन गरिरहेको छ । सो अभियानमा स्वदेश र विदेशबाट गरी सयौं व्यक्तिले आफू कामदारको पक्षमा रहेको सन्देश सहितका तस्वीरहरु पठाएर ऐक्यवद्धता जनाइरहेका छन् ।