विदेशमा कमाई नभएर फर्केका युवा स्वदेशमै राम्रो कमाउँदै 

पाल्पा- बौघापोखराथोकका कृषक रुकबहादुर रेश्मी साहुसँग दुई लाख रुपैयाँ ऋण गरेर बहराइन पुगे ।  दुई वर्ष त्यहाँ काम गर्दा ऋण तिर्न पनि उनलार्इ धौधौ प¥यो । मनग्य कमाइ गर्न त परै जाओस् साहुसँग विदेश जाँदा लिएको ऋण तिर्न मुस्किल भएपछि रेश्मी घर फर्किएर गाईपालन व्यवसायमा लागे ।विदेशमा यथेष्ट कमाइ गर्ने र परिवारलाई सुखसँग पाल्ने उनकोृ सपना गाईपालन व्यवसायबाट पूरा भएको छ । “सात वर्षअघि २५ लाख रुपैयाँको लागतमा थालेको व्यवसायबाट अहिले मासिक एक लाखभन्दा बढी आम्दानी हुन्छ”, रेश्मीले भने– “घरमै बसेर पनि मनग्य कमाउन सकिँदो रहेछ ।” 

रेश्मीले जर्सी र होलस्टिन गरी २० वटा गाई पालेका छन् । दैनिकजसो १२० लिटर दूध उत्पादन गरी सदरमुकाम तानसेनमा बिक्री गर्दै आएका उनले २५ वटा माउ गाई पाल्ने लक्ष्य लिएका छन् ।

यस्तै रामपुरका गणेश आचार्यले पनि तीन वर्ष खाडी मुलुकमा काम गरेर अहिले गाउँमै गाईपालन व्यवसाय थालेका छन् । १७ लाखको लगानीमा व्यवसाय थालेका उनले जर्सी र होलस्टिन जातका २२ वटा गाई पालेका छन् । “दैनिक ७० देखि ८० लिटरसम्म दूध उत्पादन गरी मासिक रु ६० हजार आम्दानी हुन्छ,” उनले भने । 

त्यस्तै रोजगारीका लागि खाडी मुलुक पुगेका ज्ञानराज पोखरेललाई विदेश जाँदा बैंकबाट झिकेको तीन लाख रुपैयाँ ऋण तिर्न मुस्किल प¥यो । तीन वर्षमा उनले मुस्किलले दुई लाख ५० हजार कमाइ गरे । स्वदेश फर्किए लगत्तै पोखरेलले गाई फार्म व्यवसाय सुरु गरे ।१२ लाखको लागतमा व्यवसाय थालेका उनले अहिले ११ वटा गाईबाट दैनिक ३० देखि ५० लिटरसम्म दूध उत्पादन गर्छन् । “मासिक रु ५० हजारसम्म आम्दानी हुन्छ”, उनले भने। विदेश जानुअघि धेरै इच्छा, आशा मनमा भए पनि त्यहाँ पुग्दा सबै सपना विलिन हुने गरेको उनले बताए ।

विदेश गएर स्वदेश फर्केका जिल्लाका युवा अहिले गाईपालनबाट मनग्य कमाइ गर्न सफल भएका छन् । साहुसँग ऋण झिकेर विदेशिएका युवाले पछिल्लो समय आम्दानीको बलियो र दिगो व्यवसाय पशुपालनलाई बनाएका छन् । जिल्लामा अहिले विदेश गएर फर्केका र विदेश जान लागेका १३० युवाले व्यावसायिक पशुपालनबाट मनग्य आम्दानी गरेका जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत डा चन्द्रबहादुर राना बताउँछन् ।

कार्यालयले व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढाउन युवालक्षित कार्यक्रमअन्तर्गत अनुदान रकम, विभिन्न सामग्री, भकारो सुधार, गोठ निर्माण, निःशुल्क घाँसको बीउ, औषधि उपचारजस्ता सेवा उपलब्ध गराएका कारण पशुपालनमा युवाको सङ्ख्या बढेको हो । “दस वर्ष यताकै पशुपालनमा तेब्बर सङ्ख्यामा युवाको आकर्षण बढेको छ” उनले भने  । रासस 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय