म मलेसियामा कार्यरत एक नेपाली हुँ । म अवैधानिक रुपमा यहाँ बसेर काम गरिरहेको छु । म काम गर्ने कम्पनीको ईन्चार्जले मलाई हरेक महिना काम गर्ने ठाउँ फेरिदिइरहन्थ्यो । उसले विना कारण मेरो तलव काटिदिन्थ्यो । खासमा उसलाई मैले खानेकुराहरु किनेर नदिएकोले त्यसो गर्ने गर्दथ्यो । त्यसैले मैले आफू आएको कम्पनी छोडेर भागेर काम गर्न थालेको हुँ ।
कम्पनीमा मैले कुरा गर्दा मेरो पासपोर्ट दिएन । अन्यत्र काम खोज्दा विना पासपोर्टको मान्छेलाई काम दिन्न भन्छन् । त्यसैले म समस्यामा छु । मेरो उद्धार कसरी हुन्छ होला ? कि म जेल नगई उद्धार हुन्न ? मलाई सहयोग गर्ने कोहि होला की ?
मलाई हिजोआज एकदम डर लाग्छ । घर फर्किन नपाउने हुँ की ? परिवार भेट्न नपाउने हुँ की भनेजस्तो लागिरहन्छ । भगवानले पनि मलाई कुन जुनीको सजाय दिएका होलान् ?
देश परदेशको चर्चा निक्कै सुनें । के तपाईहरुले मलाई कुनै उपाय बताइदिन सक्नुहुन्छ ?
राज शर्मा, हाल मलेसिया
सुझाव: राज जी, तपाईको समस्या सुन्दा हामीलाई पनि दुःख लाग्यो । तपाईले कम्पनी छोडेको गत फेब्रुअरी १५ भन्दा ६ महिना अगाडी हो भनें तपाईले बैधानिक भएर काम गर्न पाउने अवस्था रहन्छ । र, स्वदेश फर्किन चाहनुभएको हो भनें पनि आवश्यक सहयोगका लागि हाम्रा सहकर्मी सुदीप निउरेको टेलिफोन नम्वर तपाईलाई पठाइएको छ । उहाँसँग फोन सम्पर्क गरी मद्धत माग्नु होला ।
