काठमाडौं चैत्र २३ – श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले फ्रिभिसा, फ्रिटिकटको पक्षमा दवाव दिन गरिएको हस्ताक्षरको व्यानरलाई मन्त्रालयमा सबैले देख्ने स्थानमा राख्न निर्देशन दिएका छन् । उनले जिल्लाबाट हस्तान्तरण गर्न ल्याइएको व्यानर बुझ्दै सो व्यानर देख्ने ठाउँमा मन्त्रालयमा राख्न कर्मचारीलाई निर्देशन दिए ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका १४ जिल्लाका २२ जना प्रतिनिधिको समुहले ल्याएको हस्ताक्षर बुझ्दै मन्त्री बोहोराले हाल म्यानपावर व्यवसायीसँग अन्य विषयमा छलफल भइरहेको भन्दै न्यूनतम लागतको यस अगाडीको निर्णय परिवर्तन नहुने बताए ।
बैदशिक रोजगारीबाट फर्केका व्यक्ति र आप्रवासी कामदारका परिवारका प्रतिनिधिसँग झण्डै डेढ घण्टा छलफल गरेका मन्त्री बोहोरालाई उनीहरुले १८ बुँदे ज्ञापन पत्र समेत बुझाएका थिए । उनीहरुलाई मन्त्री बोहोराले धन्यवाद दिंदै माग जायज भएका कारण तिनिहरुलाई पूरा गरिने आश्वासन दिए । ज्ञापनपत्रमा उल्लेख गरिएका अधिकांश बुँदा आफ्नो कार्ययोजनामा नै परिसकेका हुनाले तिनिहरुलाई पुरा गर्ने आफ्नो प्राथमिकता रहेको मन्त्री बोहोराको भनाई थियो ।

देश परदेश डटकमले दुईसातायता म कामदारको पक्षमा अभियान सञ्चालन गरिरहेको छ । यस अन्तर्गत स्वदेश र विदेशमा रहेका नेपालीले सन्देश सहितको आफ्नो तस्वीर पठाइरहेका छन् र तिनिहरुलाई देश परदेश डटकमले प्रकाशन गर्दै तथा सामाजिक सञ्जाल मार्फत प्रकाशित गरी दवावमूलक अभियान सञ्चान गरिरहेको छ ।
