धादिङ, चैत्र २३- कामदारको हकहितको लागि नेपाल सरकारले निर्णय गरेको फ्रि भिषा र फ्रिटिकटको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै धादिङमा ज्ञापन पत्र बुझाइएको छ । सुरक्षित आप्रवासनका क्षेत्रमा जिल्लामा कार्यरत संस्था सिड्स धादिङले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्रमा यसअघि नै सरकारले गरेको निर्णयबाट पछि नहट्न माग गरिएको छ ।
बैदेशिक रोजगारमा जाने कामदारलाई कुनै पनि नाम वा शिर्षकमा कुनै पनि आर्थिक भार पारिनु हुँदैन भन्दै ज्ञापन पत्रमा सरकारले कामदारको रोजगारी प्रकृयामा लाग्ने लागतखर्च न्यूनिकरण गर्नको लागि गरेको यो निर्णय अत्यन्त समय सान्दर्भिक रहेको उल्लेख गरिएको छ । वैदेशिक रोजगार व्यवसायीहरु विच रहेको अस्वस्थ प्रतिष्पर्धाका कारण धेरै तहमा भिषाको किनबेच हुने यथार्थलाई निष्तेज पार्दै कामदारमाथि हुने आर्थिक भारलाई सो निर्णयले न्यूनिकरण गरेको उल्लेख गरिएको छ । फ्रिभिषा फ्रिटिकटको प्रावधान कामदारको पक्षमा रहेको र यस निर्णयले अन्तराष्ट्रिय कानुन, नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा जनाएको प्रतिवद्धता, अन्तराष्ट्रिय मूल्य, मान्यता, सिद्धान्त र अभ्यासहरु प्रतिको प्रतिबद्धतालाई अभिव्यक्त गर्दै अन्तराष्ट्रिय छविमा समेत सकारात्मक योगदान पु¥याइरहेको ज्ञापन पत्रमा उल्लेख छ ।
सिड्स धादिङ अन्तर्गत सञ्चालित सुरक्षित आप्रवासन(सामी) परियोजनाकी कार्यक्रम संयोजक गंगा सुवेदीले ज्ञापनपत्र बुझाइन् । ज्ञापन पत्रमा जिल्लाका नागरीक समाज, अधिकारकर्मी, सरोकारवाला सवै कामदारको फ्रि भिषा फ्रि टिकटको अधिकारको पक्षमा रहेको जनाइएको छ ।
गत असारदेखि सरकारले लागु गरेको फ्रिभिषा, फ्रिटिकटको निर्णय प्रभावकारी रुपमा लागु नभइरहेको भन्दै त्यसका लागि प्रभावकारी अनुगमनको खाँचो पनि औल्याइएको छ ।
देशपरदेश डटकमले दुई साता अगाडी देखि नै म कामदारको पक्षमा भन्ने अभियान चलाइरहेको छ । सो अभियान अन्तर्गत स्वदेश तथा विदेशमा रहेका नेपालीले सन्देश सहितको तस्वीर पठाएर आफू कामदारको पक्षमा रहेको भन्दै ऐक्यवद्धता जनाइरहेका छन् ।
