
अरविन्दकुमार चौधरी, सर्लाही, चैत्र २०
सरकारले गरेको फ्रिभिसा, फ्रिटिकटको निर्णयबाट पछि नहट्न दवाव दिंदै सर्लाहीमा ५० हजार व्यक्तिले हस्ताक्षर गरेका छन् । उनीहरुले सो हस्ताक्षर छिट्टै श्रम तथा रोजगार मन्त्रीलाई बुझाउने जनाएका छन् ।
यसैबीच सरकारले बैदेशिक रोजगारमा जाने कामदारहरुलाई न्युनतम लागतमा पठाउन गत असारबाट लागु गरेको फ्री भिषा फ्री टिकटको निर्णय पुर्ण कार्यन्वयनको लागि सर्लाहीको मलगंवामा शुक्रबार दबाब ¥याली गरिएको छ । आप्रवासी कामदार हक हित संरक्षण केन्द्रको आयोजनामा झण्डै ३ सय आप्रवासी कामदार तथा तिनका परिवारले प्लेकार्ड सहित फ्री भिषा फ्री टिकटको पक्षमा नारा लगाउदै मलंगवा नगरको परिक्रमा गरेका थिए ।
राजधानीमा कामदारलाई बढि भार पार्ने गरी न्युनतम लागतको निर्णय परिमार्जन गर्न म्यानपावर कम्पनिले सरकारलाई दबाब दिएको भन्दै केन्द्रले जिल्लामा प्रदर्शन गरेको हो । विदेश जाने कामदारसँग १० हजार भन्दा बढि रकम लिन नपाईने भन्दै त्यसभन्दा बढि रकम असुल्ने जो कोहीलाई कारवाही गर्न प्रहरीलाई आह्वान गरिएको थियो ।
जिविस चौकबाट शुरुभएको ¥यारीले जिल्ला प्रहरी कार्र्यलय पुगी प्रहरी नायव उपरिक्षक सिताराम रिजाललाई म्यानपावर कम्पनि माथी प्रहरीले गरेको कारवाहीको प्रशंसा गर्दै त्यसको निरन्तरताको लागि आग्रह गरेका थिए ।
केन्द्रले महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख सर्वेन्द्र खनाललाई धन्यवादसहित जिल्ला तहमा पनि कामदार ठग्ने म्यानपावर र तिनका एजेन्टलाई कारवाही अभियान चलाउन आग्रहसहितको पत्र जिल्ला प्रहरी कार्यलयमार्फत दिईएको थियो ।
फ्री भिषा फ्री टिकटको निर्णयको पुर्ण कार्यन्वयनमा पछि नहटन केन्द्रका प्रतिनिधीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत श्रम तथा रोजगार मन्त्रालयलाई पनि ज्ञापन पत्र पठाएका छन् । केन्द्रका अध्यक्ष रामनाथ शाहले गरिब नेपाली कामदारलाई ठग्न पाउनुपर्छ भनि सरकारलाई म्यानपावरले दबाब दिईरहेको बुझिएकाले जिल्लाबाटै विरोध जनाएको बताएका छन् । जिल्लामा गरिएको प्रर्दशनलाई नटेरे काठमाण्डौ गएर आन्दोलनमा उत्रने उनले चेतावनी दिएका छन् ।