
सुनसरी, चैत्र १९- बैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र आप्रवासी कामदारका परिवारले सुनसरीमा शुन्य लागतमा कामदार पठाउने व्यवस्था गर्नुपर्ने र म्यानपावर कम्पनीको हस्तक्षेप बन्द हुनुपर्ने भन्दै र्याली निकालेका छन् । उनीहरुले श्रम तथा रोजगार मन्त्रालय र बैदेशिक रोजगार विभागलाई ज्ञापनपत्र पठाउँदै सो व्यवस्था गर्न माग गरे ।
सुनसरीमा संगठित भए लगत्तै उनीहरुले २८ बुँदे मागपत्र सहित मन्त्रालय, विभागका साथै स्थानीय जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले ठग म्यानपावर कम्पनीहरुलाई कारवाही गर्नुपर्ने भन्दै हालै प्रहरीले गरेको कारवाहीको प्रशंसा समेत गरे ।
उनीहरुले आइएलओले तोके वमोजिमको ज्याला पाउने गरि नेपाल सरकारले गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गर्नु पर्ने र न्यायोचित रुपमा तलव वृद्धि हुनु पर्ने माग पनि गरे । यसैगरी विदेशमा पुगिसकेपछि कामदारको आवश्यक कागजातहरु कामदारले नै राख्न पाउने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।
ज्ञापन पत्रमा विदेशमा काम गर्दा गर्दै मृत्यु, दिर्घरोगी तथा अङ्गभङ्ग भएको खण्डमा क्षतिपुर्तिको लागि उजुरीको एक बर्षे समय सीमा हटाएर जहिले माग दावी गर्न पनि पाउनु पर्ने माग गरिएको छ । यसैगरी क्षतिपूर्तिको रकमलाई ३ लाखबाट बढाएर १० लाख बनाउनु पर्ने माग गरिएको छ । यसैगरी मेडिकल फेल भएर फर्किएको अवस्थामा उजुरी दिने ३५ दिनको हदम्याद हटाउनु पर्ने पनि उनीहरुको माग छ ।
यसैगरी बैदेशिक रोजगारका क्रममा ठगिमा परेका व्यक्तिको न्याय प्राप्तीका लागि हाल केन्द्रमा नै पुग्नुपर्ने बाध्यता रहेको भन्दै यसलाई विकेन्द्रीकृत गर्न पनि माग गरिएको छ । आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका तर्फबाट बुझाइएको सो ज्ञापन पत्रमा बैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा सीप सिक्नुपर्ने व्यवस्था गर्न पनि माग गरिएको छ ।