
अरविन्दकुमार चौधरी, सर्लाही, चैत्र १५ – खाडीका मुलुक र मलेसियामा जाने कामदारका लागि सरकारले गरेको फ्रिभिसा, फ्रिटिकटको व्यवस्थाबाट पछि नहट्न दवाव दिंदै सर्लाहीमा हस्ताक्षर अभियान सुरु भएको छ । आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको नेतृत्वमा हस्ताक्षर अभियान सुरु भएको हो ।
”फ्रिभिसा, फ्रिटिकट कामदारको अधिकारः हामी कामदारको पक्षमा छौं” भन्ने नारा सहित सुरु गरिएको अभियानका त्रममा ५० हजार व्यक्तिको हस्ताक्षर संकलन गरी प्रमुख जिल्ला अधिकारी मार्फत श्रम तथा रोजगार मन्त्रीलाई बुझाउने कार्यक्रम रहेको केन्द्रका अध्यक्ष रामनाथ साहले बताए ।
साहका अनुसार हस्ताक्षर अभियान चैत्र १९ गतेसम्म चल्नेछ । सो क्रममा विभिन्न गाविसका साथै जिल्ला सदरमुकाम मलंगवामा पनि सेतो रंगका कपडाहरुमा हस्ताक्षर संकलन गरिनेछ । हस्ताक्षर संकलनको अन्तिम दिन चैत्र १९ गते जिल्लामा र्याली समेत आयोजना गरिने केन्द्रले जनाएको छ ।
देशपरदेश डटकमले अघिल्लो हप्तादेखि म कामदारको पक्षमा अभियान सञ्चालन गरिरहेको छ । सो अभियानमा स्वदेश र विदेशबाट सयौं व्यक्तिले सन्देश सहितको फोटो पठाएर कामदारको पक्षमा आवाज उठाइरहेका छन् । सोही अभियानमा हातेमालो गर्दै केन्द्रले हस्ताक्षर अभियान चलाएको हो ।
हेर्नुहोस् तस्वीरहरु