
साउदी अरब– वैदेशिक रोजगारको क्रममा विगत १० वर्षदेखि साउदी अरबमा पसिना बगाइरहेका एक युवाले आफ्नै कमाइबाट गाउँमा मोटरबाटो खनाई उदाहरणीय कार्य गरेका छन्।
साउदी अरबमा चालकको पेशा गर्दै हाल जुबैलमा न्यू अन्नपुर्ण नेपाली रेष्टुरेण्टको संचालक बनेका पाँचथरका श्रीयवा लिम्बूले विर्तामोड, पाँचथर र ताप्लेजुंगको मेचीलोकमार्गबाट भारपा गाविस हुँदै सिक्किमको सीमासम्म मोटर गुडाएर जोड्ने बाटो खनाएर उदाहरणीय कार्य गरेका हुन्।
लिम्बूका अनुसार यातायातको सुविधाबाट बञ्चित आफ्नो भारपा गाउँ र आफू पढेको श्रीद्धेश्वरी निमाविलाई मोटर गुड्न सक्ने बाटो बनाएर मेची लोकमार्गमा जोड्ने उनको पहिलादेखिको सोचलाई साकार तुल्याउन सो मोटरबाटो खनाईएको हो। सो बाटोका लागि सरकारले दुई वर्षअघि ५० हजार छुट्टयाएर वेवास्ता गरिरहेका थियो।
लिम्बूले स्काभेटर लगाएर बाटो खनाउन शुरु गरेपछि गाउँलेहरु अत्यन्तै खुसी भएका छन्। सो मोटरबाटोको निर्माणले आसपासका मेम्बेंग, सिदिन, फ्राङदुङ र भारपाचार गाविसका स्थानीयलाई सडक सुविधा पुग्ने छ। सडक संजालमाजोडिँदा त्यस क्षेत्रको मुख्य कृषि बाली अदुवा र अम्रिसोको उत्पादन र निकासीमा सहयोग पुग्ने छ। त्यसैगरी अन्य कृषि पशुपालन व्यवसायमा समेत सहयोग पुग्ने र गाउँलेहरुको जीवनस्तर उकास्नमा सहयोगी हुने देखिएको छ।
मोटरबाटो खन्ने क्रममै पानीको मुलपनि भेटाइएको छ। पानीको समस्या भएको सो भारपा गाविसका बासिन्दालाई पानी मूल प्राप्त हुँदा थप खुसी प्राप्त भएको लिम्बूले बताएका छन्। स्काभेटरले पहरा खन्ने क्रममा सो पानीको मूल फेला परेको हो। उक्त पानीको मूललाई व्यवस्थित गरेर खानेपानी र सिँचाईका लागि उपयोग गर्न गाउँलेहरु लागि परेका छन्। अब भारपाका गाउँलेहरुलाई उक्त मूलको पानीले सुख्खायाममा सिँचाई र खानेपानीको समस्याको समधान गर्नेछ।
गतफागुनको दोस्रो साताबाट पहाडलाई ुस्काभेटरुद्वारा खनेर बनाउन थालिएको सो मोटरबाटो गाविस रोड हुँदै सिक्किमको सीमा हालेलुंगसम्म पु¥याउने लक्ष्य छ। साउदी रियाल एक लाख (करिब २८ लाख ३९ हजार रुपैयाँ) खर्च गर्ने प्रतिबद्धता गरेरका लिम्बूको सो लगानीबाट पहाडी भिरपहरा खनेर ५ किलोमिटर कच्ची मोटरबाटो निर्माण गर्ने योजना छ।
साउदी अरबमै पनि समाजसेवा गर्दै आएका लिम्बूले वैदेशिक रोजगारका क्रममा यहाँ रहेका प्रवासी नेपालीहरुको मेसिन रिडेबल पासपोर्टको आवेदन संकलन र वितरणका लागि २०१४ सेटेम्बरबाट २०१६ फेब्रुअरीसम्म ल्याप्टप, प्रिन्टर र हल निःशुल्क उपल्बध गराउनुका साथै एनआरएनका स्वयंसेवहरुलाई खाजाखाना खुवाएर सेवा गरेका थिए।
नेपाल साउदी हेल्पिंग हेण्डस्का संयोजकसमेत रहेकालिम्बूले भूकम्प पीडित बालबालिकाहरुका लागि राहत संकलन र असहाय नेपालीहरुलाई सहयोगसमेत गर्दै आएका छन्। साउदी अरबमा पसिना चुहाई रहेका श्रीयवा लिम्बूको उदाहरणीय कार्यले मन भए अमेरिका, अष्ट्रेलिया, इजरायल, युरोप लगायतकै रोजगारीमा नभए पनि समाज र राष्ट्रको उल्लेखनीय सेवागर्न सकिन्छ भन्ने पुष्टि गरेको छ ।
नागरिकबाट