
काठमाडौं, चैत्र १०- अनुशासित तथा ज्येष्ठ चालक रोशन शाक्यलाई १ लाख ५ हजार नगद सहित सम्मान गरिएको छ । काठमाडौं–धुलिखेल रुटमा चल्ने यात्रुबाहक बसका ५२ वर्षिय चालक शाक्यलाई नेपाल यातायात स्वतन्त्र मजदुर संंगठन धुलिखेल रुट ईकाईले नगद सहित सम्मान गरेको हो ।
होली पर्वको अवसरमा सोमबार आयोजित ज्येष्ठ तथा उत्कृष्ट चालक, सहचालक सम्मान कार्यक्रममा संगठनका महासचिव भीमज्वाला राईले नगद तथा सम्मान पत्र प्रदान गरी चालकलाई सम्मान गरे ।
कार्यक्रममा शाक्यसंगै उत्कृष्ट चालकहरु दुदे राना, आईतवहादुर तामाङ तथा अनुशासित सह–चालकहरु बलराम श्रेष्ठ र कृष्णसुन्दर कर्माचार्यलाई नगद २ हजार ५ सय ५ सहित सम्मान गरिएको थियो । सोही अवसरमा काभ्रे बस व्यवसायी संघका अध्यक्ष रत्न श्रेष्ठ र कानुन व्यवसायी कृष्णगोपाल बैदारलाई समेत सम्मान गरिएको थियो ।
चालक तथा सहचालकहरुलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि राईले नागरिकको सेवामा समर्पित यातायात मजदुर लाई राज्यले अपमान गरेको बताउँदै यो सम्मान राज्यको आँखा खोल्नका लागि भएको बताए ।
उनले वर्षौदेखि नागरिकको सेवा गर्दै आईरहेका चालकहरुलाई असक्षम भन्दै लाईसेन्स लिनका लागि १० कक्षा उत्तिर्ण गरेकै हुनु पर्ने नीतिले मजदुरहरुलाई पेशाबाट विस्थापित बनाउन खोजेको धारणा राखे । नेपालका सन्दर्भमा तत्काल शैक्षिक मापदण्ड लागु हुन नसक्ने बताउदै उचित तालिमको व्यवस्था गर्नु पर्ने राईले सुझाव दिए ।
सम्मानित चालक शाक्यले चालक पेशामा रहँदा जीवनमा अनेकौं समस्याहरुसँग सामना गर्नु परेको अनुभव सुनाउदै संगठनले दिएको सम्मानले आफुले राम्रै पेशामा लागेको अनुभुत गरेको बताए । प्रत्येक वर्ष संगठनले ज्येष्ठ र उत्कृष्ठ चालक तथा सहचालकहरुलाई सम्मान गर्दै आईरहेको संगठन धुलिखेल ईकाईका अध्यक्ष भीमसेन लामाले बताए ।