
काठमाडौं- चालू आर्थिक वर्षको ८ महिनामा म्यानपावर एजेन्सीले कतारका विभिन्न कम्पनीबाट मार्केटिङ गरेर ल्याएको झन्डै ४ लाख नेपाली कामदारको माग यतिकै थन्किएको छ । यो अवधिमा कतारमा मागको २१ प्रतिशतमात्र नेपाली कामदार रोजगारीका लागि गएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार चालू आवको फागुनसम्ममा कतारका विभिन्न रोजगारदाता कम्पनीले म्यानपावर एजेन्सीमार्फत ४ लाख ६९ हजार नेपाली कामदार माग गरेका छन् भने जाने नेपाली कामदार भने ८६ हजारमात्र छन् । “कतारका रोजगारदाताले यहाँका म्यानपावर एजेन्सीलाई धेरै कामदारको माग दिन्छन् । तर, कममात्र कामदार लिन्छन्,” विभागअन्तर्गतको काठमाडौं कार्यालयका प्रमुख मधुविलास पण्डित भन्छन्, “जति कामदार चाहिएको छ, त्योभन्दा धेरै गुणा कामदार माग गर्ने भएकाले यस्तो देखिएको हो ।”
रोजगारदाताले एउटै कामका लागि धेरै म्यानपावर एजेन्सीलाई कामदारको मागपत्र दिन्छन् । निश्चित कामदार गएपछि अरुको भिसा प्रक्रिया हुँदैन । नेपाली कामदार भने मागबमोजिम भिषा प्रक्रिया अगाडि बढाउँछन्, तर अन्य म्यानपावर एजेन्सीबाट पूरा हुने भएपछि कम्पनीले भिसा दिँदैन । “मागपत्र पठाउनेबित्तिकै कामदार पठाउनुपर्छ भन्ने कन्ट्रोल प्रणाली छैन,” पण्डित भन्छन्, “त्यसमा कसरी कन्ट्रोल गर्न सकिन्छ भन्नेमा छलफल गर्छौं ।”
विभागको तथ्यांकअनुसार म्यानपावर एजेन्सीले ८ लाख १ हजार ल्याएको मागमध्ये २ लाख ५३ हजार नेपाली कामदार संस्थागत रूपमा अन्तिम श्रमस्वीकृति लिएर विदेश गएका छन् । मागको तुलनामा ३१ प्रतिशतमात्र नेपाली कामदार बिदेसिएको गएको देखिन्छ । व्यक्तिगत श्रमस्वीकृतिसहित २ लाख ८० हजार कामदार वैदेशिक रोजगारीमा गएका छन् । व्यक्तिगत श्रमस्वीकृतिमा मागपत्र पेस गर्नुपर्दैन ।
सबैभन्दा बढी कामदार साउदी अरब गएका छन् । ८ महिनामा साउदी अरबमा १ लाख २१ हजार कामदारको मागमा ९३ हजार ३ सय कामदार पुगेका छन् । मलेसियामा भने मागभन्दा बढी कामदार गएका छन् । मलेसियामा ४० हजार माग आएकोमा ४२ हजार कामदर पुगेको देखिन्छ । गत आर्थिक वर्षको मागमा पनि कामदार मलेसिया गएकाले बढी देखिएको हो । संयुक्त अरब इमिरेट्समा १ लाख ३५ हजार कामदारको मागमा ३४ हजार कामदारमात्र गएको देखिन्छ । “म्यानपावर एजेन्सीले पनि भनेकै समयमा कामदार पठाउन नसकेको पनि देखिन्छ,” प्रमुख पण्डितले भने, “त्यही भएर अन्तर बढी देखिएको हो ।”
युरोप, अमेरिकालगायत आकर्षक गन्तव्य मुलुकमा कामदारको मागपत्र ल्याए पनि भिसा आउँदैनन । “केही कम्पनीले आकर्षक रोजगारीको अवसर लिएर पूर्वश्रमस्वीकृति लिन्छन् । तर, भिसा आउँदैन,’ पण्डितले भने ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङ रोजगारदाताले जति माग पठाउँछन्, त्यति नै भिसा प्रक्रिया नगराउँदा बढी समस्या रहेको बताउँछन् । “रोजगारदाताले एउटै माग धेरै म्यानपावर एजेन्सीमा दिन्छन् । तर, कामदार लिने भने एउटै म्यानपावर एजेन्सीबाट हो,” उनले भने, “जसले कामदार छिटो पठाउँछन्, त्यहीँबाट मात्र लिन्छन् ।” माग र अन्तिम श्रस्वीकृतिका लागि सरकारले कडाइ गर्नुपर्ने तामाङ बताउँछन् ।
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ८ महिनामा बिदेसिने कामदार घटेका छन् । गत आवको ८ महिनमा ३ लाख ६४ हजार नेपाली कामदार बिदेसिएकोमा यो आवमा यो संख्या २ लाख ८० हजार छ ।
यो समाचार कारोवार दैनिकमा मोहन गुरुङले लेखेका हुन्