
दुवई- कतार, युएई, साउदी लगायतका खाडीका देशका थुप्रै कम्पनीहरुले रोजगारी कटौति गर्न लागेका छन् । रोजगार क्षेत्रको अध्ययन, अनुसन्धान गर्दै आएका संस्थाहरुले गरेको अध्ययनका आधारमा यस्तो देखिएको हो ।
गल्फ ट्यालेण्ट नामको अनुसन्धान गर्ने संस्थाका अनुसार सवैभन्दा धेरै रोजगारी साउदी अरवमा कटौति गर्ने योजना त्यहाँका कम्पनीहरुले बनाएका छन् । त्यहाँ १४ प्रतिशतसम्म रोजगारी कटौती हुने देखिएको रिपोर्टमा उल्लेख छ । अनुसन्धानका क्रममा ७ सय वटा रोजगारदाता कम्पनीका २५ हजार व्यक्तिसँगको अन्तर्वार्ता गरिएको जनाइएको छ । पछिल्ला ७ महिनाको तथ्याँकका आधारमा नेपालीको मुख्य गन्तव्य मुलुक साउदी अरव हो । त्यसपछि कतार र तेश्रोमा मलेसिया रहेको छ । गतवर्षसम्म नेपालीका लागि मलेसिया पहिलो गन्तव्य मुलुक थियो ।
यसैगरी दोश्रोमा ओमानमा रोजगारी कटौतिको योजना बनाइएको छ । त्यहाँ १० प्रतिशत रोजगारी कटौति गर्ने योजनामा कम्पनीहरु रहेको रिपोर्टमा उल्लेख छ । यसैगरी युएईमा ९ प्रतिशत रोजगारी कटौति हुने देखिएको छ । कतारमा पनि ८ प्रतिशतले रोजगारी कटौति हुने देखिएको छ । कुवेत र बहराईनमा भनें रोजगारी कटौतिका बारेमा त्यहाँका रोजगारदाताले कस्तो योजना बनाएका छन् भन्ने बारेमा रिपोर्टमा उल्लेख गरिएको छैन ।
मुख्य गरी उर्जा र निर्माणका क्षेत्रका कम्पनीहरुले रोजगारी कटौतीको योजना बनाएका छन् रिपोर्टमा भनिएको छ । पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारण खाडीका देशहरुमा रोजगारीको अवशर पनि खुम्चिन पुगेको अध्ययनको निश्कर्ष छ ।