
सोल- कोरियामा नेपाली कामदारको करोडौं रुपैयाँ लिएर एक हुन्डी दलाल फरार भएको पीडितले बताएका छन् । सोल तुङदेमुनमा बसेर कामदारको पैसा नेपाल पठाइरहेका भोजपुरका सोगेन्द्र घले करिब २ करोड ९० लाख रुपैयाँ लिएर फरार भएको उनीहरूले जानकारी दिएका छन् । घलेले सस्तो दरमा नेपालमा पैसा पठाइदिने भन्दै नेपाली कामदारबाट पैसा संकलन गरेका थिए । उनी केही दिनदेखि घरमा पैसा पठाउन लागेका कामदारसँग सम्पर्कविहीन भएका हुन् ।
कामदारले खोजिरहेका बेला घले सोमबार बिहान भने कान्तिपुरको सम्पर्कमा आएका थिए । उनले अज्ञात स्थलबाट भ्वाइस कलबाट फोन गरेर कामदारको पैसा २९ करोड वन करिब नेपाली २ करोड ९० लाख रुपैयाँ संकलन गरेको स्वीकार गरे तर त्यो पैसा आफूले क्यासिनोमा हारेको बताए ।
साथीभाइको संगतमा लागेर क्यासिनो धाउने गरेको घलेले बताए । नेपाली कामदारले दुस्ख गरेको पैसा क्यासिनोमा हारेकाले आफूलाई पश्चाताप लागेको सुनाए । घले एनआरएन कोरियाका निर्वाचित सचिव हुन् ।
फोनमा घलेले सोलकै अर्को एकजना नेपाली व्यापारी, नेपाली सम्पर्क समिति (एनसीसी) र एनआरएनका उच्च पदाधिकारीले पनि नेपाली कामदारको करोडौं रुपैयाँ क्यासिनोमा हारेको जानकारी दिए । उनका अनुसार ती व्यापारी भूमिगत छन् भने एनसीसीका पदाधिकारीले कामदारको पैसा थोरथोरै तिरिरहेका छन् । एनआरएन पदाधिकारी भने नेपाल फर्केको जानकारी दिए । मंगलबार सम्पर्क गर्न खोज्दा घलेको फोन बन्द छ ।
ईपीएसबाट आएका उनी पछिल्लो समय जी वान भिसामा थिए । यो भिसा नक्कली प्रमाण पेस गरेर शरणार्थी हुन आवेदन दिएपछि कोरियन सरकारले दिने अस्थायी भिसा हो । कोरियामा अधिकांश हुन्डी दलाल र ईपीएसबाट आएका ४० वर्ष नाघेका कामदारले यो भिसा लिने गरेका छन् । कोरियामा विदेशीका लागि ठूलठूला क्यासिनोहरू सञ्चालनमा ल्याइएका छन् ।
यहाँको सरकारले आफ्ना नागरिकलाई खुल्ला रूपमा क्यासिनो जान बन्देज लगाएको छ । पछिल्लो समय कामदारका रूपमा कोरिया आएका नेपालीहरूसमेत जाने, पैसा र कमाउने समय बर्बाद गर्ने क्रम बढिरहेको छ । कोरियामा हुन्डी दलालले नेपाली कामदारको पैसा लिएर फरार भएको धेरै पटक भएको छ ।
नुवाकोटका बलराम लामिछानेले पनि करोडौं लिएर अझै विगत डेढ वर्षदेखि फरार रहेका छन् । केही सञ्चार माध्यमले लामिछानेको मृत्यु भएको समाचार लेखे पनि उनी जीवित नै रहेको केहीले बताउँछन् ।
त्यस्तै केही महिनाअघि सुवनमा व्यवसाय गर्दै आएका गुल्मीका गोविन्द पोख्रेल पनि नेपाली कामदारको लाखौं लिएर फरार भएका छन् । बैंकमार्फत पठाउँदा झन्झटिलो र महँगो पर्ने भन्दै कामदारले हुन्डी कारोबारमार्फत पैसा पठाउने गरेका छन् । हुन्डी दलालहरूले धेरै नेपाली कार्यरत क्षेत्रमा एजेन्ट राखेर पैसा संकलन गर्ने गर्छन् । एक लाख रुपैयाँ उठाए ५ सयदेखि १ हजार रुपैयाँ कमिसन एजेन्टले पाउने गरेका छन् । ती एजेन्टले कमिसनको लोभले पैसा उठाएर जिम्मा दिने गर्छन् ।
‘आमाको अप्रेसन रोकियो’
मैले यसअघि घलेमार्फत ३ पटक घर पैसा पठाएकी थिएँ, तलब आउने समय हुनुअघि नै उसैले म्यासेज गरेर हुन्डीको रेट बताइदिन्थ्यो । अरूभन्दा सस्तो दरमा पठाउने भएकाले उसैमार्फत पठाएको हो । अहिले मेरी आमा देउमाया सुनुवार गंगालाल अस्पतालमा हुनुहुन्छ । उहाँ मुटु रोगी हुनुहुन्छ । उहाँको उपचारमा हालसम्म ७ लाख रुपैयाँ खर्च भइसकेको छ । फेरि अप्रेसन गर्न २ लाख ८० हजार घर पठाउनु थियो ।
मार्च १० मा विष्णुप्रसाद उप्रेतीको खाता नम्बर दिएकाले त्यसैमा २९ लाख ६८ हजार वन ट्रान्सफर गरिदिएँ, तर हालसम्म परिवारले नेपालमा पैसा पाएका छैनन् । यहाँ फोन गर्यो बन्द छ ।
च्याउ खेतीमा काम गर्छु । साहु तथा म्यानेजरको गाली खाँदै १२–१३ घण्टा काम गरेर कमाएको पैसा हो । मेरो तलबले नपुगेर साथीसँग १ लाख ८० हजार रुपैयाँ ऋण लिएर नेपाल पठाएको हो । मलाई न्याय अब कसले देला ?
कान्तिपुरबाट