काठमाडौं- संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकको पर्यटन प्रबद्र्धन तथा विकासमा प्रवासमा बस्ने नेपालीहरुसँग हातेमालो गर्ने बताएका छन् । नेपाल अमेरिका एकता समाजको नव गठित कार्यसमितिले राखेको पहिलो औपचारिक कार्यक्रममा मन्त्री पोखरेलले ‘भुकम्पपछि नेपाल पर्यटनको लागि असुरक्षित रहेको’ भन्ने धारणालाई चिर्न प्रवासमा रहेका नेपालीहरुको ठुलो हात रहने समेत औंल्याए ।
नेपालमा हुन् गइरहेको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनको लागि संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनलाई निमन्त्रणा दिन तथा पर्यटन प्रबर्धन गर्ने विविध कार्यक्रमको योजनासाथ अमेरिका आइपुगेका मन्त्री पोखरेलले शनिबार लस एन्जल्समा भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गरेका हुन् । उनले क्षतिग्रस्त देशको पुननिर्माणको लागि पर्यटन प्रबर्धनले ठुलो टेवा दिनसक्ने दावी गरे ।
पर्यटनको लागि सुरक्षित रहेको सन्देश दिन आउँदो वैशाख १२ गते नेपालमा विशेष कार्यक्रम नै गर्न लागेको उनले बताए । पर्यटन नै देशको मुहार फेर्ने तथा अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने आधारहरु पेश गर्दै उनले बढी भन्दा बढी पर्यटक भित्र्याई अर्थतन्त्रमा समेत टेवा पुऱ्याउन आफू लागि परेको समेत बताए ।
मन्त्री पोखरेलले लस एन्जल्स क्षेत्र वरपर रहेका नेपालीहरूले आफ्नै लगानीमा स्थापना गरेको श्रीपशुपतिनाथ तथा बुद्ध मन्दिरको समेत निरिक्षण गर्दै प्रवासमा रहेर आफ्नो धर्म संस्कृतिको संरक्षण गर्दै नेपालको पहिचान गराउने पशुपति र बुद्धको मन्दिर स्थापना गर्ने कार्यको प्रशंसा गरे । पोखरेलले लस एन्जल्समा गरिने स्टेट फेस्टिभल को लागि नेपाल सरकारबाट प्राविधिक रूपले सहयोग गरिने प्रतिबद्धता समेत जनाए ।
समाजका अध्यक्ष सूर्य प्रसाईले अमेरिका बसाइको अति व्यस्त समयका बाबजुद पनि मन्त्रीले समय दिएकोमा हार्दिक आभार प्रकट गर्दै नेपाल अमेरिका एकता समाजले नयाँ नेतृत्वको कार्यसमिति मार्फत केही दीर्घकालीन योजनाहरू नेपाली कला, संस्कृति, परम्परा, भेसभुषा, खानपान र नेपालको पर्यटन उधोगलाई टेवा पुग्ने गरी आटिसिया नगर वा लस एन्जलसमा ‘नेपाल महोत्सव’ गर्ने खुलाए । महोत्सबबाट नेपालको पर्यटकीय प्रवर्धन र विकाशमा यहाँको अमेरिकी समुदायलाई सुसुचित गर्ने र आकर्षण गर्नुको साथै स्थानीय व्यापार व्यवसाय, पहिचान र एकतालाई समेत प्रबल रूपमा विकास र विस्तार गर्न सकिने कार्यपत्र प्रसाइँले मन्त्री पोखरेलमार्फत पर्यटन मन्त्रालयमा समेत पेस गरे ।
समाजकी महासचिव डोल्मा लामाले भने नेपाली कला र शैली झल्कने खालको विभिन्न सांस्कृतिक, धार्मिक र अन्य मनोरन्जनात्मक कार्यक्रम एकै थलोमा गर्न नेपाल अमेरिका एकता समाजले ‘सामुदायिक भवन’ को अवधारणा अघि बढाएको बताइन् । नेपाल अमेरिका पत्रकार सङ्घ ९नेजा०का अध्यक्ष गौतम दाहालले वान कि मुनलाई नेपालमा हुन् लागेको सम्मेलनमा प्रमुख अतिथि बनाउन सकेमा गौतम बुद्ध नेपालमा जन्मेको सङ्केत जाने मात्र नभएर नेपालको पर्यटन प्रबर्धनमा समेत सहयोग पुग्ने दावी गरे ।
एनआरएन आईसिसी सदस्य दिल श्रेष्ठले पनि पर्यटनको विकास र प्रबर्दनले मुलुक बाहिर नेपालको पचिरय फराकिलो बनाउने बताए । बाणिज्यदुत ऋषि ढकालले पश्चिम अमेरिकामा पचास हजार भन्दा बढी नेपाली रहेको, सानो कागजी प्रक्रियाको लागि समेत वाशिंगटन जानुपर्ने बाध्यता र खर्चिलो प्रक्रिया भएको हुँदा लस एन्जल्समा कन्सुलेट सेवा उपलब्ध गर्न पहल गरिदिनु हुन् मन्त्री पोखरेलसँग अनुरोध गरे ।
कान्तिपुरबाट
