विराटनगर– जोगवनीको बाटो प्रयोग गरेर भारतको राजधानी नयाँदिल्ली हुँदै खाडी मुलुकमा नेपाली चेली गैर कानुनी तरिकाले लैजाने गरिएको रहस्य खुलेको छ। मोरङ प्रहरीले रेल्वेमार्फत नयाँदिल्ली लैजान लागिएको आठजनालाई शनिवार मध्यराति नियन्त्रणमा लिएको छ।
जोगवनी प्लेटफर्ममा नयाँदिल्ली जाने रेल कुरिरहेका ती समूहमाथि भारतीय प्रहरीलाई शंका लागेपछि मोरङ प्रहरीलाई खबर गरेको थियो। सीमा प्रहरी चौकी रानीका इन्चार्ज विकास खत्रीको कमान्डमा रेल्वे प्लेटफर्ममा पुगेका नेपाली सुरक्षाकर्मीले सोधीखोजी गर्दा शंका लागेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको महिलाहरु चितवन, रामेछाप, सुनसरी, उदयपुर र संखुवासभा घर भएकी छन्। नियन्त्रणमा लिइएका महिलाहरु २१ देखि ३७ वर्षकी छन्। सातै जना महिलालाई केआई नेपालको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये सुनसरी इनरुवा–२ का ३० वर्षीय रोहित दर्नाल र फूलमाया तामाङ चोर बाटोबाट महिलाहरुलाई खाडी मुलुक पु¥याउने गिरोहका सदस्य हुन् । अनुसन्धान गरिरहेका मोरङ प्रहरीका एक अधिकृतका अनुसार देशभरिबाट लोभ्याएर काठमाडौं ल्याइपुर्याइएको महिलाहरुलाई विराटनगरसम्म ल्याउने काम तामाङले गर्छिन। दर्नालले विराटनगर आइपुगेको महिलाहरूलाई जोगवनीसम्म पुर्याउने र रेल्वेको टिकट समेत काटिदिने काम गर्छन ।
‘भारतीय प्रहरीको सहयोगमा हामीले उनीहरुलाई राति पौने १२ बजे उद्दार गर्यौं,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्दीप भण्डारीले भने, ‘अनुसन्धान भइरहेको छ, नयाँदिल्ली हुँदै कुवेतसम्म पुग्ने उनीहरुको योजना थियो।’ एसपी भण्डारीका अनुसार अहिलेसम्मको अनुसन्धानबाट गैर कानूनी तरिकाले महिलाहरुलाई खाडी मुलुकसम्म लैजाने देखिन्छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार उद्दार गरिएका महिलाहरुको पढाई–लेखाई पनि न्यून छ। ‘कोइ ५ क्लास, कोइ ७ क्लाससम्म पढेकी छन्,’ ती प्रहरी अधिकृतले भने, ‘आर्थिक अवस्था समेत सबैको कमजोर छ ।’ मोरङ प्रहरीको अहिलेसम्मको अनुसन्धानमा उद्दार गरिएका महिलाहरुलाई आर्थिक प्रलोभनमा पारेर चोरबाटोबाट खाडी मुलुक पुर्याउन लोभ्याएको देखिन्छ। ‘जोगवनीको बाटो हुँदै भारत छिराएर उनीहरुलाई खाडी मुलुक लैजाँदै थियो’ इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर गंगा पौडेलले भने, ‘राम्रो पैसा कमाइन्छ भनेर सपना बाँडेर उनीहरुलाई कुवेत लैजाने गिरोहको तयारी थियो।’
उद्दार गरिएका सबै महिलाको बाटो खर्च९पैसा०, कागजपत्र, नागरिकता, टिकट सबै फूलमायाले बोकेकी थिइन्। फूलमाया उनीहरुलाई नयाँदिल्लीसम्म पुर्याउन हिँडेकी थिइन्। फूलमाया पनि उनीहरुसंगै बिदेश गएजस्तो गर्छिन । नयाँदिल्ली पु¥याएर उनी फेरी काठमाडौं नै फर्किने गर्छिन्। फूलमायाले पुर्याइदिएको महिलालाई नयाँदिल्लीबाट खाडी मुलुक लैजाने अर्को व्यक्ति हुन्छ ।
नागरिक दैनिकमा यो समाचार अजित तिवारीले लेखेका हुन्