
क्वालालम्पुर- मलेसियाले गैरकानुनी आप्रवासी कामदारलाई दर्तापछि वैध भई काम गर्न पाउने गरी एउटा कार्यक्रम ल्याएपनि घर फर्कने अवसर खुला नगर्दा स्वदेश फर्किन चाहने नेपाली कामदार अन्योलमा परेका छन्। कतिपय नेपाली कामदारहरु बिचौलियालाई चर्को रकम तिरेर फर्कन बाध्य छन् भने कतिपय पक्राउ समेत पर्ने गरेका छन्।
मलेसियाले गत फेब्रुअरी १५ तारिखदेखि गैरकानुनी आप्रवासी कामदारलाई वैधता दिई रोजगारी दिन उक्त कार्यक्रम ल्याएपनि उनीहरुलाई तत्काल स्वदेश फर्कन पाउने अवसर खुला नगरिएकोले नेपाली कामदारहरु बिचौलियाको फन्दामा परेका छन्।
त्यहाँस्थित नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले गैरकानुनी अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्कने अवसर पुनः खुला गर्न मलेसियाली पक्षसँग आग्रह गरिएपनि हालसम्म कुनै जवाफ नपाएको बताए। उनका अनुसार मलेसियाले यो वर्ष शुरुयता साढे २ महिनमा गैरकानुनी आप्रवासी कामदारलाई स्वदेश फर्किने अवसर खुला गरेको छैन।
त्यस्तो अवसर खुला नगरिँदा दुतावासबाट यात्रा अनुमतिपत्र लिएपछि घर फर्कन चाहने दूतावास परिसरमै पुगेर बिचौलियाहरुले मोलतोल गर्ने र आफ्नो फन्दामा पार्ने गरेको पाइएको छ। मलेसियाले स्वदेश फर्कने अवसर खुला नगरेपनि घर फर्कन चाहने नेपाली नागरिकको हकलाई ख्याल गर्दै यात्रा अनुमति पत्र नरोकिएको राजदुत बस्न्यातले बताए।
गत फेब्रुअरी १ तारिखदेखि नयाँ विदेशी कामदार भर्ना रोकेको मलेसियाले पछिल्लो समय गैरकानुनी आप्रवासी कामदारविरुद्ध थप कडाई गर्दै आएको छ। मलेसियाले गैरकानुनी कामदारलाई दर्ता भई वैध हुन आगामी जुन ३० तारिखसम्मको समयसीमा समेत तोकेको छ।
स्थानीय सञ्चारमाध्यममा सार्वजनिक एक तथ्यांकअनुसार गत ३ सातायता गैरकानुनी आप्रवासीविरुद्धको अभियानमा ४ हजार १ सय ४८ जना आप्रवासी पक्राउ परेका छन्। उनीहरुका अनुसार त्यसमध्ये २ सय ५८ जना नेपाली कामदार छन्।
विविसीबाट, तस्वीर रामचन्द्र गिरीले लिएका हुन्