क्वालालम्पुर- मलेसियाले यहाँबाट स्वदेश फर्किने विदेशी कामदारले अनिवार्य रुपमा आफ्नो दुतावासबाट घरफिर्ति सम्वन्धि पत्र पेश गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । मलेसियामा अवैधानिक रुपमा बसेर काम गरिरहेकाहरुका साथै वैधानिक रुपमा बसेर काम गरिरहेकाहरुले पनि त्यस्तो पत्र पेश गर्नुपर्ने मलेसियाका उपप्रधानमन्त्री एवं गृहमन्त्री दातुक सेरी अहमद जाहिदीले बताएका छन् ।
मलेसियामा कामदार पठाउने देशले पनि आफ्नो कुन कामदार फर्कियो र को फर्किएको छैन भन्ने जानकारी राख्न पनि यो व्यवस्था अनिवार्य छ उनले भनेका छन् । ईण्डोनेसियाका दुतावाससँग यसबारेमा यसअगाडी नै सहकार्य सुरु भइसकेको र अन्य देशका दुतावासमा पनि व्यवस्था लागु गरिने अहमदले बताएका छन् ।
मलेसियमा अवैधानिक रुपमा बसेर काम गरिरहेकाहरुलाई क्षमादिंदै सिमित समयका लागि काम गर्न पाउने आवेदन दिन मलेसिया सरकारले हाल कार्यक्रम अगाडी सारेको उनले बताएका छन् । मलेसियामा अवैध रुपमा बसेर काम गरिरहेका विदेशी कामदार पक्राउ गर्न हाल सर्च एण्ड रेस्क्यू अभियान सञ्चालन गरिरहेको मलेसियाले धरपकडलाई अझ तिव्र बनाउने घोषणा गरिसकेको छ ।
अवैधानिक रुपमा बसेर मलेसियामा काम गरिरहेका व्यक्तिहरु गरिव भएपनि मलेसियाको सुरक्षा सम्वेशनशिलतालाई पनि आँखा चिम्लिन नमिल्ने अहमदले बताएको बनर्माले समाचार लेखेको छ । उनका अनुसार अवैध रुपमा मलेसियामा बसेर काम गर्नेहरु मध्ये ९९ प्रतिशत कानूनी रुपमा मलेसिया छिर्ने गरेका छन् ।
त्यसरी अवैधानिक रुपमा बस्नेहरु मध्ये कतिपय भिसाको म्याद सकिएर पनि घर फर्किन नचाहनेहरु, कतिपय रोजगारदाताहरुबाट ठगिएकाहरु वा रोजगारदाता र एजेण्टले कागजपत्र नदिएकाहरु हुने गरेको अहमदको भनाई छ । त्यसैले अवैधानिक रुपमा बसिरहेकाहरु प्रति सहानुभूति राख्नुपर्ने उनले बताएका छन् ।
