क्यासिनोको काममा श्रीलंका की खाडी ?

  

काठमाडौं- हेर्दैमा सुखसयलको उठबसमाझ रमाइरहेका झैं देखिने पाँच युवती र तीन युवक अध्यागमन विभागको डिल्लीबजार कालिकास्थान कार्यालयमा अपराध अनुसन्धान विभागका प्रहरी अधिकारीसामु शुक्रबार दिउँसो भेटिए । कारण चिरपरिचित थियो, काठमाडौं हुँदै दिल्ली, मुम्बई ट्रान्जिट र त्यहाँबाट श्रीलंकाको कोलम्बो जाँदै गरेको अवस्था ।

विगतमा भारतका विभिन्न सहर, चीनको ग्वान्जाओदेखि बेइजिङसम्मको यात्रा र खाडीका साउदी अरेबियादेखि ओमानसम्म पुगिसकेका सबैजसो युवायुवतीले यो पटकको बयानमा भने एउटै बोली बोले, ‘श्रीलंकाको बाटो भएर खाडी मुलुक जाने केटाकेटीबारे हामीलाई राम्ररी थाहा छ । हामी जाने भनेको श्रीलंकै हो, अरूतिर होइन ।’

श्रीलंकामा समेत कडिकडाउ रहेको क्यासिनो व्यवसाय र डान्स–डिस्कोको ‘स्पष्ट नखुलेको रोजगारी’ मा हिँडेका युवायुवतीको पासपोर्टमा काठमाडौं, दिल्ली, मुम्बई, कोलम्बो र ढाकासम्मको ‘अराइभल’ वा ‘डिपार्चर’ स्टाम्प देखिन्छ ।

‘हामी क्यासिनोको काममा श्रीलंका जान लागेका थियौं,’ नुवाकोट, बट्टार घर भएकी एक २५ वर्षीया युवतीले भनिन्, ‘कोलम्बोको अध्यागमनमा कागजात नपुगेको भन्दै निहुँ खोजेर यतै फर्काए ।’ उनका अनुसार कोलम्बोमा अध्यागमनका कर्मचारीलाई ५ सय डलर मात्रै ‘टिप्स’ दिएको भए विमानस्थलबाट ‘डिपोर्ट’ हुने स्थिति आउने नै थिएन ।

श्रीलंकाको अध्यागमन विभागले त्यहाँको कानुन (धारा २१ र २२) अनुसार फर्जी भेटिएका यात्रुलाई तत्कालै ‘डिपोर्ट’ गरिएपछि यी युवायुवती बिहीबार बेलुका कोलम्बो–दिल्ली हुँदै काठमाडौं उत्रिए । यीमध्ये झापा, गौरादहकी एक युवती भने संयुक्त अरब इमिरेट्सको दुबई अध्यागमनबाट प्रवेशाज्ञा नपाएर तत्काल घर फर्काइएकी हुन् । फर्काइएका युवतीमा झापाका २ र अरू काभ्रे, तनहुँ र नुवाकोटका छन् । यीमध्ये काभ्रेकी युवती पछिल्लो एक वर्षमा ३ पटक कोलम्बो पुगेकी छन् ।

‘हामीहरू काठमाडौंको एभरेस्ट, रोयललगायत क्यासिनोमा काम गर्थ्यौं,’ टोलीमा कोलम्बोबाट फिरेका पुलामी थरका युवकले भने, ‘हामी आफूले जानेको क्यासिनो पेसाको काम गर्न हिँडेका हौं, आतेजाते सबै खर्च दिएर मासिक ३ सय डलरमा काम गर्न जाने भनेको थियो ।’

तर, पुलामीकै पासपोर्टमा भने काठमाडौंबाट मुम्बई हुँदै ढाका (बंगलादेश) र त्यहाँबाट कोलम्बो (श्रीलंका) पुगेको ‘स्टाम्प’ देखिन्छ । पर्यटक भिसामा कोलम्बो ओहोरदोहोर गरिरहेका युवायुवतीले पासपोर्ट बनाउनेदेखि अनेक ‘ट्रान्जिट’ हुँदै कोलम्बो पुग्न कुनै मोटो रकम खर्च गर्नु नपरेको बयान दिएका छन् ।

‘श्रीलंकाबाट नेपाली दिदीले सहयोग गर्नुहुन्छ, हामीलाई त्यहाँसम्म जानेबारे एक भारतीय दाइले सहयोग गर्नुभएको थियो,’ तनहुँकी २८ वर्षीया युवतीले भनिन् । उनीहरूले दिएको जानकारीमा कोलम्बोमा थुप्रै नेपाली एजेन्टले क्यासिनो वा डान्स, डिस्कोको काम मिलाउनमा सहयोग गर्ने गरेका छन् ।

अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेका अनुसार पछिल्लो समयमा कोलम्बो हुँदै मस्को (रुस) र ल्याटिन अमेरिका जाने ‘नेटवर्क’ले गतिलै जालो बनाएको प्रमाण अध्यागमनसम्म आउन थालेको छ । उनका अनुसार अनेक बहाना र प्रलोभनमा बाहिरी मुलुकमा लैजाने ‘सेटिङ’ सँगै उनीहरूलाई गन्तव्यमा पुर्‍याउन २र४ जना व्यक्ति ‘एस्कर्टिङ’ मा समेत जान थालेका छन् ।

तर, ‘हामीले मानव तस्करी वा ओसारपसारका कुनै पनि घटना वा सम्बद्ध मामिलामा अनुसन्धान वा कारबाही गर्न मिल्दैन,’ महानिर्देशक न्यौपानेले भने, ‘यसकारण आवश्यक अनुसन्धानका लागि हामीले तत्कालै प्रहरी अपराध महाशाखाको सहयोग लिने गरेका छौं ।’

उनका अनुसार बिहीबार अपराहन श्रीलंकाबाट काठमाडौं फिर्ता गरिएका युवायुवतीबारेको अनुसन्धान नटुंगिएका कारण केही दिन अध्यागमन निगरानीमै राखिने भएको छ । तर, पर्यटक भिसा साथमा लिएर र अध्यागमनले तोकेको आवश्यक डलर ९खर्च० देखाएपछि अध्यागमनले बिना कारण भने यात्रुलाई आवागमनमा रोक लगाउन मिल्दैन ।

यो समाचार कान्तिपुरमा देवेन्द्र भट्टरार्ईले लेखेका हुन्, तस्वीरः प्रतिविम्वात्मक रुपमा ईण्टरनेटबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय