‘सवैभन्दा बढी मारमा श्रमिक नेपाली परेका छन्’ 

काठमाडौं, फागुन २९- नयाँ संविधानमा समेटिएका श्रमिकका अधिकार, समेटिन बाँकी महत्वपूर्ण विषय र संविधानका बारेमा फैलाइएका भ्रमका बारेमा नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) ले आफ्ना सदस्यहरुलाई प्रशिक्षण दिएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा बागमती अञ्चलका जिफन्टका सयौं अगुवा नेता सहभागि थिए । 

प्रशिक्षणमा बोल्दै जिफन्टका महासचिव विष्णु लम्सालले भूकम्प, त्यसपछिको मधेसकेन्द्रीत केहि दलहरुको आन्दोलन र भारतको अघोषित नाकावन्दीका कारण सवैभन्दा बढी मार श्रमिक बर्गलाई परेको बताए । उनले गणतन्त्र, संघियतालाई सुनिश्चित गरेको नयाँ संविधान श्रमिकको सामाजिक सुरक्षा, समानताको हक लगायतमा यसअघिका भन्दा प्रगतिशिल रहेको धारणा राखे । 

महासचिव लम्सालले संगठन स्वतन्त्रता, सामुहिक सौदावाजीको हक, दासता विरुद्धको हक पनि संविधानमा समेटिएको भन्दै बाध्यकारी श्रममा लगाउनेलाई दण्ड सजायको समेत व्यवस्था हुनु नयाँ संविधानको नविनता रहेको बताए । 

उनले भारतको संविधान भन्दा नेपालको संविधान कयौं हिसावले उत्कृष्ट रहेको भन्दै नेपालको संविधानका बारेमा छिमेकीले चासो र चिन्ता प्रकट गरिरहनु आवश्यक नरहेको बताए । उनले जुनसुकै दल सत्तामा पुगेपनि तिनिहरुले पुँजिपतिका पक्षमा काम गर्ने भन्दै श्रमिकका पक्षमा काम गर्ने अवस्था निर्माणका लागि समाजवाद आवश्यक रहेको धारणा राखे । 

उनले नयाँ संविधानमा श्रमिकको उल्लेख हुनु तथा केहि महत्वपूर्ण कुराहरु समेटिएपनि श्रमिकका देष्टिकोणबाट केहि विषय छुटेको बताए । राष्ट्रिय श्रम आयोगको गठन आफूहरुको एउटा मुख्य माग रहेको भन्दै संविधानले त्यसलाई नसमेटेको हुँदा आफूहरुको त्यो माग यथावत रहेको महासचिव लम्सालको भनाई थियो । 

यसैगरी निर्वाचित निकायमा श्रमिकको अनिवार्य प्रतिनिधित्वको विषय अझै पनि सम्वोधन नभएको लम्सालको भनाई थियो । उनले संविधान गतिशिल दस्तावेज हुने भएका कारण ति विषयहरु समयक्रममा पुरा हुने अपेक्षा पनि प्रकट गरे । 

सो अवशरमा बोल्दै जिफन्टका उपमहासचिव जनक चौधरीले ईतिहासको विश्लेषण राम्रोसँग नगरी वर्तमानको उपलव्धीको आँकलन ठिक ढंगमा गर्न नसकिने धारणा राखे । उनले विगतका संविधानहरु र छिमेकी देशहरुका संविधानको अध्ययन गरेर हेर्दा नेपालको संविधानमा खोट लाउने ठाउँ नरहेको तर्क गरे । उनले मधेसका केहि अभिजात वर्गले आफ्नो अधिकार खोसिने त्रासले संविधानका बारेमा भ्रम फैलाएको र जवर्जस्ती आफ्नो व्यक्तिगत लाभका लागि मधेसी नागरिकलाई प्रयोग गर्न खोजेको धारणा राखे । 

सो अवशरमा जिफन्टका सचिव दिपक पौडेलले जिफन्टको १७ पैसा १७ अधिकार अभियानका बारेमा प्रष्ट पारेका थिए । यसैगरी संगठन नै शक्ति हुने भन्दै धेरैभन्दा धेरै श्रमिकलाई संगठित गर्दै श्रमिकको अधिकारलाई स्थापित गर्न जिफन्ट लागि परेको पौडेलले बताए । 

जिफन्ट वागमति अञ्चल अध्यक्ष रामहरी नेपालले प्रशिक्षणमा प्राप्त ज्ञानलाई आफू कार्यरत ठाउँमा पुर्याउन आग्रह गर्दै जहाँ श्रमिक त्यहाँ जिफन्टको नारालाई सार्थक पार्न आग्रह गरे । जिफन्टले यसरी नै देशका मुख्य शहरहरुमा यसअगाडी नै प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय