काठमाडौं, फागुन २९ – साउदी अरवमा ६० प्रतिशत घरेलु कामदार रोजगारदाता छोडेर भाग्ने गरेको सुहारा काउन्सीलका एक सदस्यले बताएका छन् । साउदी ग्याजेटको अनलाइनका अनुसार सुहारा काउन्सीलका सदस्य अवादी अल अस्मेरीले साउदी अरवको श्रम मन्त्रालयले यसरी कामदार भाग्ने रोजगारदातालाई कसरी क्षतिपूर्ति दिलाउन सकिन्छ भनेर छलफल थालेको छ ।
‘वितेको एक बर्षभित्र ५ लाख ३० हजार घरेलु कामदार रोजगारदाता छोडेर भागेको तथ्याँक छ’ उनले भनेका छन् । उनले श्रम मन्त्रालयले रोजगारदाताको अधिकार कसरी सुरक्षित गर्ने भनेर सोचिरहेको पनि बताए ।
सुहारा काउन्सीलका सदस्य जुवरान अल खतानीले पनि नीजि क्षेत्रका रोजगारदाताहरुको अधिकार सुरक्षित गर्दै त्यसमा एकरुपमा ल्याउनु पर्ने बताएका छन् । उनले सवै क्षेत्रमा कामदारले पाउने अधिकार, तलव, सुविधा, क्षतिपूर्ति, बोनस, कार्यसमय लगायतमा एकरुपता ल्याउनुपर्ने धारणा राखेको समाचारमा जनाइएको छ ।
साउदीमा हाल १५ लाख घरेलु कामदार रहेको भन्दै एकजना कामदार लिन रोजगारदाताले एजेन्सीहरुलाई झण्डै दुईलाख रकम तिर्नुपर्ने सरकारी अधिकारीलाई उधृत गर्दै साउदी ग्याजेटले समाचार लेखेको छ ।