मनाइयो १०६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस

काठमाडौं, फागुन २५ 

नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) ले १०६ औं अन्तरािष्ट्रय श्रमिक महिला दिवस र्याली सहित मनाएको छ । जिफन्टको मुख्य कार्यालय मनमोहन मजदुर भवन, पुतलीसडकबाट सुरु भएको र्याली रानीपोखरीमा पुगेर सम्पन्न भएको थियो । र्यालीमा जिफन्टका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत जिफन्टका विभिन्न नेता, कार्यकर्ताहरु सहभागि थिए । 

र्याली पश्चात आयोजित सभामा अखिल नेपाल महिला संघकी कार्यवाहक अध्यक्ष गोमा देवकोटा, जिफन्टकी उपाध्यक्ष गोमादेवी आचार्य, सचिव बेलीमाया घले लगायतले बोलेका थिए । 

सो अवशरमा बोल्दै अनेमसंघकी कार्यवाहक अध्यक्ष गोमा देवकोटाले एकता नै शक्ति हुने भन्दै नेपालमा महिला आन्दोलनकोे लामो ईतिहासको स्मरण गरिन् । उनले वर्तमान अवस्थामा जेजति उपलव्धी प्राप्त भएका छन् त्यसका लागि लामो संघर्ष र बलिदान गरिएको बताइन् । उनले राष्ट्रपति, सभामुख, विद्यार्थी संगठनका अध्यक्ष देखि सर्वोच्च अदालतमा समेत केहि समयभित्रै महिला प्रधानन्यायाधिस हुने अवस्था आउँदै गरेको भन्दै समानताको अवस्था निर्माणका लागि अझ अगाडी बढ्न आव्हान गरिन् । 

सोही अवशरमा जिफन्टकी उपाध्यक्ष आचार्यले हाल देशको राष्ट्रपति, सदनको सभामुख लगायतमा महिला पुग्नु ठूलो उपलव्धी भएपनि त्यसको निरन्तरताको ग्यारेन्टी हुनुपर्ने धारणा राखिन् । उनले कानूनी रुपमा ८ मार्चको दिन सार्वजनिक विदा दिने व्यवस्था गरिएको भएपनि अहिले पनि धेरै उद्योग, कारखानाहरुमा त्यो सुविधाबाट वञ्चित गरिएको बताइन् । 

उनले नयाँ संविधानले महिलाका केहि अधिकारलाई सुनिश्चित गरेको भन्दै प्राप्त उपलव्धी अझै अपर्याप्त रहेको धारणा राखिन् । निर्णायक तहमा हस्तक्षेपकारी भूमिका निर्माणका लागि श्रमिक महिलालाई अझ संगठित गर्न आवश्यक रहेको भन्दै जहाँ श्रमिक त्यहाँ जिफन्टको अभियानलाई सफल बनाउन लागिपर्न उनले आग्रह गरिन् ।    

र्यालीमा सयौंको सहभागिता रहेको थियो । र्यालीका सहभागिहरुले समान कामको समान ज्याला, महिला अधिकार मानव अधिकार, हरेक निर्वाचित निकायमा समान अधिकार, श्रम सम्वन्धि ऐन कानूनहरु तुरुन्त जारी गर, १० प्रतिशत श्रमिक प्रतिनिधित्वको ग्यारेण्टी, आईएलओ महासन्धि नं ८७ अनुमोदन गर, सम्पूर्ण क्षेत्रमा सामाजिक सुरक्षा लागु गर, अनौपचारिक क्षेत्रका श्रमिकको पञ्जीकरण गर, न्यूनतम ज्याला कार्यान्वयन गर लेखिएका प्लेकार्ड बोकेका थिए भनें नारा पनि लगाएका थिए । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय