तलव नपाएपछि खाली हात स्वदेश फर्किंदै २१ जना नेपाली 

साउदी अरब– धन कमाउने सपना बोकेर रोजगारीका लागि साउदी अरब आएका २१ नेपाली कामदार खालीहात स्वदेश फर्कन बाध्य भएका छन् । रोजगारदाता कम्पनीले पारिश्रमिक नदिएपछि ती नेपाली कामदार खालीहात स्वदेश फर्कन बाध्य भएका हुन् ।

महिनौँदेखि पारिश्रमिक नदिएर बिचल्लीमा पारिएका नेपाली कामदारलाई पछिल्लो सातादेखि भने कम्पनीले स्वदेश फर्काउन थालेको हो । यसअघि स्वदेश फर्काउनसमेत आनाकानी गर्दैआएको कम्पनीले बिना पारिश्रमिक स्वदेश फर्काउन तयार भएको हो ।

रोजगारदाताले रकम भुक्तानी नगरिकनै पारिश्रमिक बुझेको कागजात गराएर स्वदेश फर्काउन तयार भएको पीडित नेपालीले बताएका छन् । दमामको टोयतास्थित अलसत्रायन कन्ट्र्याक्टिङ कम्पनीमा कार्यरत ती नेपाली कामदारले गतवर्षको जुलाईदेखि हालसम्मको गरी आठ महिनाको पारिश्रमिक पाएका छैनन् । उनीहरु काठमाडौँमा रहेको काइवे म्यानेजमेन्ट प्रालि, डिएचआर डेस्टेनीहुमन रिर्सोस र न्यू एसभी इन्टरनेसलनमार्फत् लाखौँ रुपैयाँ तिरेर २२ महिनाअघि साउदी आएका थिए ।

“आठ महिनाको बाँकी पारिश्रमिक भुक्तानी लिएको हस्ताक्षर गराई बिना तलब स्वदेश फर्कन बाध्य पारिएको छ” पीडित कामदार जीवन मगरले बताए। पारिश्रमिक नपाएर महिनौदेखि बिचल्लीमा पर्दासमेत कहिँ कतैबाट उद्धार हुन नसकेपछि स्वदेश फर्कनकै लागि हस्ताक्षर गरेको उनको भनाइ छ । बिचल्लीमा परेका २१ नेपालीमध्ये आइतबारसम्म १६ जना घर फर्किसकेका छन् । अन्य पाँच जना पनि फर्कने तयारीमा छन् ।

दूतावासले बेवास्ता गरेकै कारण आफू रित्तोहात स्वदेश फर्कनुपरेको शनिबार घर फर्केका रोल्पाका गङ्गा पुनले बताए । दूतावासले पहल गरिदिएको खण्डमा भुक्तानी पाउनुपर्ने पारिश्रमिक पाउनसक्ने उनको आशा थियो । पारिश्रमिक नपाएको विषयमा तीन महिना अगाडि नै कामदारले नेपाली दूतावासलाई जानकारी गराएका थिए । तर दूतावासले चासो दिएन ।

कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले कामदारले पारिश्रमिक नपाएको बिषयमा आफूलाई जानकारी नभएको बताए । “समस्याको विषयमा जानकारी लिने प्रयास गरिरहेको छु” उनले भने। स्वदेश फर्कनेमध्ये पाल्पाका बालप्रसाद विक र सुनसरीका राजेन्द्र पौडेललाई एमआरपी राहदानी नभएका कारण घर फर्कन समस्या भएको छ । घर र्फकनका लागि नेपाली कामदारले एमआरपी वा यात्रा अनुमतिपत्र बनाउनुपर्ने बाध्यता छ ।

तर कागजपत्र बनाउनका लागि रियादमा रहेको नेपाली दूतावाससम्म पुग्ने खर्च अभावका कारण समस्या भएको कामदारले बताएका छन् । “एमआरपी बनाउन पैसा छैन, खोइ कसरी स्वदेश फर्कने हो” पौडेलले भने । यसअघि पीडित नेपालीलाई स्वदेश फर्काउन समेत आनाकानी गर्दै आएको कम्पनीले हवाई टिकटको व्यवस्था गरी स्वदेश फर्कने व्यवस्था मिलाएको थियो । रासस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय