
सोल- दक्षिण कोरियामा आएका दुई नेपाली युवा कामदार एकै दिन झुन्डिएर मृत अवस्थामा फेला परेका छन्। कञ्चनपुरका मोहनसिंह बुढापाल र गुल्मीका विजय खत्रीले आइतबार आफ्नै कम्पनी परिसरमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। ईपीएसमार्फत ९ महिनाअघि आएका बुढापाल आइतबार बिहान १० बजेतिर कम्पनीभित्र फलामको बिममा झुन्डिएर मृत अवस्थामा साथीहरूले भेटेका थिए। सँगै काम गर्ने पाँचथरका दीपक रेग्मीका अनुसार उनले शनिबार बेलुका बजारमा मदिरा सेवन गरेर आएका थिए। आइतबार बिहान कोठामा नभेटिएपछि खोजी गर्दा झुन्डिएर मृत भइसकेको अवस्थामा भेटिएको रेग्मीले जानकारी दिए।
ख्यंगिँदो आनसङ क्षेत्रमा रहेको कार्टन बक्स बनाउने कम्पनीका कामदार बुढापालले उनको मृत्युको कारण नखुलेको बताए। उनको सुसाइड नोट भेटिएको छैन। साथीभाइसँग उनको सम्बन्ध राम्रो भएको र घरमा धेरै फोन गरिरहने बुढापालको कम्पनी व्यवस्थापनसँग कुनै समस्या नभएको पनि रेग्मीले जनाए। ३४ वर्षीय विवाहित पालका ४ छोराछोरी छन्। घटनाको जानकारी परिवारलाई साथीहरूले दिएका छन्।
त्यसैगरी गुल्मीका २४ वर्षीय विजय खत्री आइतबार दिउँसो आफ्नै कोठामा गलबन्दीको पासोमा भेटिएका छन्। ईपीएसमार्फत २ वर्षअघि छाल्लानाम्दो ख्वाङजुमा रहेको कपडा धुने कम्पनीमा आएका खत्रीले पाँच पेज सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन्। नोटमा दाजुलाई सम्बोधन गर्दै आफूलाई मिर्गौलामा ट्युमर भएको उल्लेख गरेका छन्। सँगै काम गर्ने साथीहरू कोरियन भाषा सिक्न गएका बेला उनले आत्महत्या गरेका थिए।
त्यहाँ कार्यरत विवश गौतमका अनुसार खत्री सामान्य बिरामी भएकाले सातादेखि काम छोडेर बसेका थिए। उनी घर जाने कुरा गर्थे, तर प्लेन टिकट लिएका थिएनन्। राम्रो कामदार भएकाले मालिकले उपचार गर्न अस्पताल पुर्याउने गरेका थिए। प्लस टु अध्ययन सकेर आएका अविवाहित खत्रीले आत्महत्या गर्नुपर्ने कुनै कारण नदेखिएको साथीहरू बताउँछन्। कम्पनीमा अरू ३ नेपालीसहित श्रीलंका, बंगलादेश, फिलिपिन्स इस्ट टिमोरका कामदार छन्।
दुवै घटनाबारे औपचारिक जानकारी प्राप्त नभएको सोलस्थित नेपाली राजदूतावासका श्रम सहचारी अनिल गुरुङले बताए।
कान्तिपुरबाट