सुदिप निउरे, फागुन २३, क्वालालम्पुर
अन्र्तराष्टिय श्रम संगठन आईएलओले यहां काम गर्ने आप्रवासी कामदारलाई माया गर्न मलेसियासंग अपिल गरेको छ । कानुनी प्रावधान अनुसार बसेका आप्रवासी कामदारलाई सुरक्षा दिन, सदभाव दर्शाउन र सम्मानजनक ब्यवहार गर्न आईएलओले अपिल गरेको हो ।
आप्रवासी कामदारमाथी गरिंदै आएको खराब ब्यवहारका कारण मलेसियाको चौतर्फी आलोचना हुन थालेपछि आईएलओले यसलाई गम्भीरढंगवाट लिएको मलेसियाकिनीमा खबर छ । हाल मलेसियामा २३ लाख ३५ हजार आप्रवासी कामदार छन् । जसमध्य ५ लाख २७ हजार नेपालीले यहाँ बैधानिक तरिकाले कामगर्दै आएका छन् । आप्रवासी कामदार अपरिहार्य भएको मुलुकले कामदारप्रति राम्रो ब्यबहार गर्न नसक्दा बिश्वसमुदाय माझ मलेसियाबारे नकरात्मक सन्देश गईरहेको आईएलओले जनाएको छ ।
मलेसिया सरकारको नीति एवं रोजगारदाता कम्पनिहरुको कामदार प्रतिको ब्यबहारमा सुधार नआए यसले अझै नराम्रो असर पार्न सक्ने भन्दै आईएलओले सरकारलाई सचेत हुन आग्रह गरेको छ ।
आप्रवासी कामदारहरुमा मलेसियाप्रति पैदा भएको गलत नजिर हटाउन एवं मलेसिया सरकार एवं सम्बन्धित निकायले कामदारलाई सहि ढंगबाट परिचालन गराउनका लागि एक नयाँ अभियान शुरु गरिएको छ ।
मलेसियाको अर्थब्यबस्था र आईएलओको भुमिका एमडब्लसी २०१६ भन्ने अभियानले संगै काम गरौ संगै हिंडौ, आप्रवासी कामदार हाम्रा लागि भन्ने नारा अघि सारेको हो । अभियानलाई स्थानिय मिडिया एजेन्सी पिपिएले साझेदारी गर्ने मलेसियाकिनीले छापेको खबरमा उल्लेख गरेको छ ।
