
काठमाडौं- बैदेशिक रोजगार व्यवसायीहरुले म्यानपावर कम्पनी अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी म्यानपावर कम्पनी बन्दको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा त्रासको वातावरण भएको भन्दै संघले सरकारसँग निर्णायक वार्ता गर्नका लागि अनिश्चितकालीन बन्द गरिएको जनाएको छ । व्यवसायीले फागुन २३ गतेदेखि पूर्व स्वीकृति र अन्तिम स्वीकृतिका कुनै पनि काम नगर्ने घोषणा गरेका हुन् ।
व्यवसायलाई मर्यादित, व्यवस्थित, गराउने गरी कोही कसैले गैर काननुनी काम गरेको भएमा अधिकार प्राप्त निकायले मात्र छानबिन गरी कारवाही गर्नुपर्ने संघले माग गरेको छ । संघका अध्यक्ष विमल ढकालले ढुक्कसँग काम गर्न सक्ने अवस्था नभएकाले वाध्य भएर बन्दको निर्णय गरिएको बताए । उनले कानूनी ईजाजत लिएर व्यवसाय गरिरहेका व्यवसायीलाई प्रहरीले पक्रेर अनावश्यक रुपमा दुःख दिएको तर्क गरे । सरकारले हचुवाको भरमा फ्रि भिसा, फ्रि टिकटको निर्णय गरेका कारण वैदेशिक रोजगार व्यवसाय अस्तव्यस्त भएको उनको भनाई थियो ।
सो अवशरमा संघका अन्य पदाधिकारीहरुले पनि आफ्ना भनाई राखेका थिए ।