‘ज्यान त फर्केन घर लाशसम्म त ल्याइदेउ’ 

रामेछाप- वैदेसिक रोजगारीका लागि चारबर्ष अघि साउदी अरव पुगेर उतै ज्यान गुमाएका एक व्यक्तिको शव नेपाल फर्काइदिन परिवारले अनुनय गरेका छन् । रामेछाप ५ हिलेदेवीका बमहादुर तामाङ्गको साउदी अरवको दमाममा रहेको एक अस्पतालमा उपचारकै क्रममा ज्यान गएको थियो । 

श्रीमानको निधन पश्चात विक्षिप्त जस्तै बनेकी बमबहादुरकी श्रीमती माइली तामाङ्ग श्रीमानको शव नेपाल ल्याइदिन धेरै ठाउँ पुगेपनि सहयोग नपाएको बताउँछिन् । घटनाका बारेमा सुनेर गाउँ पुगेका सञ्चारकर्मी सामु उनले शव समेत नपाउँदाको दुखेसो पोखिन् । 

६ जनाको परिवारको बस्ने एककोठे पाली भएको छाप्रो मात्र छ । भिरालो केहि जग्गाको उव्जनीले खानसमेत परिवारलाई नपुग्ने देखिएको स्थलगत अध्ययनमा गएका सामुदायिक जनशक्ति विकास कार्यक्रमका कार्यक्रम अधिकृत सागर विक्रम बस्नेतले बताए । 

विदेश जानुअघि गाउँमै ज्याला मजदुरी गर्ने गरेका बमबहादुर १ लाख ५० हजार ऋण लिएर गएका थिए । पहिलो पटक बैदेशिक रोजगारीमा साउदी गएर २ बर्ष ८ महिनामा नेपाल फर्केका बमबहादुरले जाँदा लिएको ऋण तिरेर केहि रकम बचत समेत गरेर ल्याएको माइली बताउँछिन् । तर तीन महिना नेपालमा बसेर पुनः २०६८ सालमा केहि रकम ऋण लिएर कमाउन विदेश उडेका उनी अव कहिल्यै नफर्किने बाटो लागेका छन् ।    

उनी कुन म्यानपावर कम्पनी मार्फत विदेश उडेका हुन् र विदेशमा कुन कम्पनीमा काम गर्दथे भन्ने समेत परिवारलाई थाहा नभएको बस्नेत बताउँछन् । सामुदायिक जनशक्ति विकास कार्यक्रमले रामेछाप जिल्लामा सुरक्षित आप्रवासन(सामी) परियोजना अन्तर्गतको कार्यक्रम सञ्चालन गर्ने गर्दछ । 

साउदीमा कार्यरत रहँदा आफूले राम्रो काम नपाएको र अन्तै काममा लागेको बताउने बमबहादुरले आफू चाँडै घर फर्किने बताएका थिए । तत्काल कानूनी प्रकृया पूरा गरेर नेपाल फर्किने बताएका उनको त्यहि फोनमा गरेको कुराकानी नै अन्तिम हो । 

साउदीबाट बमबहादुरका साथिहरुले उनको दमाम स्थीत अस्पतालमा उपचार भइरहेको बताएपनि उनको त्यहि निधन भयो । प्रहरी हिरासतमा रहँदा चिसोका कारण सुरु भएको निमोनियाका कारण उनको निधन भएको जानकारी पाएको तामाङ परिवारको भनाई छ । 

दोश्रो पटक विदेश जाँदा लिएको ऋणसमेत पुरा तिरिनसकेका कारण आफूहरुलाई समस्या आइपरेको माइली तामाङ बताउँछिन् । श्रीमानको मुख अन्तिमपटक हेर्ने ईच्छा रहेको भन्दै शव नेपाल झिकाई दिन उनले आग्रह गरेकी छिन् । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय