दिलिप पराजुली दोहा- कतारको पुरानो सामाजिक संस्था मोरङ सुनसरी सेवा समाज कतारले आफ्नो १५ औ बार्षिक उत्सव तथा ११ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष टेकनाथ बरालको सभापतित्व तथा एनआरएनए मध्यपुर्व क्षेत्रीय उपसंयोजक उमेश अधिकारीको प्रमुख आतिथ्यतामा बार्षिक उत्सव सम्पन्न भएको थियो ।
१५ औं बार्षिकोत्सवको अवसरमा अध्यक्षले केक काटेका थिए । संस्थाले निवर्तमान कार्यकालमा सहयोग गर्ने कलाकारहरु, स्वयंसेवकहरुलाई प्रशंसापत्र, १० औं साधारण सभाका निर्वाचन समिति क्रान्ति सिंह, चुडामणी कार्की, हंशराज ढकाल एवं संस्थाका गतिविधि सप्रेषण सहयोगी सञ्चारकर्मि घनश्याम पराजुलीलाई कदर पत्र प्रदान गरिएको थियो । त्यसै गरी मोसुको विधान बमोजिम एनआरएनए एनसीसी कतारको अध्यक्षको हैसियतमा बिनेस तामाङ र समाजसेवि चुडामणी कार्कीलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न सेवा समितिका साथै एनआरएनएका विभिन्न बर्तमान तथा पूर्व पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले मोसुले समाजमा गरेका कार्यहरुको प्रशंसा गरेका थिए ।
उद्घाटन समारोह पश्चात शुरु भएको बन्द सत्रले निवर्तमान सचिव चिरन्जिवी तिम्सिनाले प्रस्तुत गरेको कार्यप्रगति प्रतिवेदन तथा निवर्तमान कोषाध्यक्ष प्रदिप राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो । चुडामणी कार्कीको संयोजकत्वमा द्रोण बस्नेत र सीताराम थापा सदस्य रहेको निर्वाचन समितिले अघि बढाएको प्रक्रिया मार्फत टेकनाथ बरालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरिएको थियो ।
कार्यसमितिको उपाध्यक्षद्धयमा योगेन्द्र कार्की र सेवन कार्की, सचिवमा चिरन्जीवी तिम्सीना, कोषाध्यक्षमा तेज कटुवाल, सह सचिवमा दिलिप पराजुली, सह–कोषध्यक्षमा भीम विश्वकर्मा तथा सदस्यहरुमा द्रोण निरौला, हिक्मत बिष्ट, अमित चौधरी, मनोज चौधरी, भरत श्रेष्ठ, लिलानाथ घिमिरे, पर्शुराम बाँस्तोला, रमेश निरौला, यम मगर, राजकुमार भट्टराई, देवराज न्यौपाने, गोपाल कटुवाल, समिम बराल र दुर्गाप्रसाद गुरागाईं रहेका छन् ।
सोहि हलले बिमला थापाको संयोजकत्वमा महिला विभाग, देवराज न्यौपानेको संयोजकत्वमा कला तथा सांस्कृतिक विभाग, सेवन कार्कीको संयोजकत्वमा मानविय सहयोग तथा श्रमिक कल्याण उप–समितिहरु समेत गठन गरेकोछ ।
२ मार्च २००१ कतारमा स्थापति भइ निरन्तर क्रियाशिल मोसु नेपालमा विधिवत दर्ता भइ सञ्चालित छ प्रवास शाखाको रुपमा ओमान, बहराईन, यूएइ, कुवेतमा समितिहरु क्रियाशिल छन् । संस्थाले प्रवासमा, जिल्लामा तथा राष्ट्रमा परेका आपद विपदहरुमा सक्दो सहगोग तथा सदस्यहरुको व्यक्तिगत तथा व्यवसायीक विकासको लागि विभिन्न गतिविधिहरु गर्दै आइरहेकोछ ।