दोहा- रोजगार करार सम्झौता भइसकेपछि पनि घरफिर्न नदिएको भन्दै ३६ नेपाली कामदार कतारबाट उद्धारको प्रतिक्षामा बसेका छन् । कतारस्थित इभर क्लिन कम्पनीमा कार्यरत उनीहरुले नेपाली दुताबाससमक्ष उद्धार गरिदिन पटक पटक अनुरोध गर्दै आइरहेका छन् । बाजुराका भीम रावलले समयमा तलब भुक्तानी नगर्ने, भिसा नबिकरण नगरिदिने तथा क्याम्पको अबस्था राम्रो नभएकाले आफुहरु काम गर्न नसक्ने बताए ।
कामदारहरुले कम्पनीबिरुद्ध कतारको श्रम बिभाग तथा राष्ट्रिय मानब अधिकार समितिमा समेत पुगेको बताएका छन् । ‘कम्पनीले नपठाउने भएपछि हामी सबै निकायमा गइसकेका छौ’, २३ महिना अघि आइपुगेका प्युठानका कमलबहादुर घर्ती क्षेत्रीले भने,’मानब अधिकार समितिले खोज तथा अनुसन्धान बिभागमार्फत जान सकिने बताएको छ ।’
बिभागबाट फर्कन टिकट नभएको उनीहरुले बताए । नेपाली दुताबासले कम्पनीका ब्यबस्थापनसँग समन्वय गरी घर तत्काल पठाइदिन अनुरोध गरेको जनाएको छ । कम्पनीले मार्च ३१ पछि मात्रै उनीहरुलाई घर पठाउन सकिने दुताबासलाई पत्र दिएको छ । ‘आएदेखि नै आइडी दिएको छैन् । कतारको यो कम्पनीमा काम गरेको प्रमाण पनि छैन’, सुनसरीका अजय चौधरीले भने,’खानसमेत समस्या छ । यस्तो अबस्थामा हामी सकेसम्म छिटो घर फिर्न चाहन्छौं ।’
उक्त कम्पनी भारतीय केरला नागरीकद्धारा सञ्चालित छ । त्यस कम्पनीबाट पीडित भारतीय कामदार पनि भारतीय दुताबास पुगेका छन् । पीडितहरु नोभेम्बरदेखि तलब नपाएपछि दुताबास पुगेका थिए । गत बिहिबार २ महिनाको तलब दिएपछि बाकी अर्को महिना दिने भनिएको म्याग्दीस्थित इस्तान गाबिसका रिमनकुमार गर्वुजाले भने ।
‘धेरै जसो साथीहरुको आइडीसमेत सकिएको एक बर्ष भन्दा बढी भइसकेको छ’, रावलले भने,’अहिले त हामी गैरकानुनी कामदार जस्तो भएका छौं । न साथमा राहदानी छ, न आइडी नै । यही कम्पनीमा बसेर काम गर्छ भन्ने हामीसँग प्रमाण पनि छैन् ।’ सहेलियास्थित १७ नम्बरको एक क्याम्पमा कम्पनीले पानी समेत उपलब्ध गराएको छैन । ‘पिउने पानीका लागि अर्को क्याम्पमा जानुपर्छ । शौचालयमा पानी नहुदाँ त्यतिकै फोहोर छ’, पीडितले दुताबास समक्ष भनेका छन्, ‘हामीलाई निकै कठिन छ । क्याम्पमा बस्न सकिने अबस्था छैन् ।’
रावलका अनुसार तलब नदिएकाले किन्ने पैसा समेत छैन् । ‘कम्पनीका मान्छे आएर नभनिदिएसम्म बकालाले उधारोमा पैसा दिने गरेको छैनु, उनले भने,’भोकै पर्ने दिन आउला भन्ने पो डर लाग्न थालेको छ ।’
उनीहरु तलब पाए घर जाने अबस्थामा पुगेका छन् । ‘रगत र पसिना चुहाएर काम गरिएको छु, गर्वुजाले भने,’काम गरेको क्षणलाई सम्झदा त तलब मात्रै लिने होइन कि बोनस पनि छोड्न मन लाग्दैन् ।’ भारतीय ब्यबस्थापन भएको कम्पनीले माथिल्लो कम्पनीले रकम भुक्तानी नदिएकाले कामदारको तलब दिन नसकिएको बताएको छ ।
कान्तिपुरमा यो समाचार होम कार्कीले लेखेका हुन्