काठमाडौं, फागुन- नेपाल, भारत, बंगलादेश लगायत विभिन्न देशका ट्रेड युनियनहरुले कतारमा रहेको बाध्यकारी श्रमलाई कतार सरकारले सम्वोधन गर्नुपर्ने माग गरेका छन् । कतारमा बाध्यकारी श्रमको समस्या गम्भीर रहेको भन्दै उनीहरुले त्यसको अन्त्यका लागि कतार सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) लगायतका ट्रेड युनियनहरुले राजधानी काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत सो आव्हान गरेका हुन् । कतार सरकारले हालै श्रमिकको तलव भुक्तानी बैंक मार्फत गर्ने व्यवस्थाको भनें उनीहरुले सराहना गरेका छन् । केहि विषयमा कतार सरकारले सुधारको प्रयास गरेपनि अझै पनि धेरै कुरामा सुधारको खाँचो श्रमिक संगठनहरुले औंल्याएका छन् ।
कतारमा मुख्य गरी समस्याका रुपमा रहेको कफला प्रथा उन्मुलन हुनुपर्ने श्रमिक संगठनहरुले माग गरेका छन् । यसैगरी प्रवासी मजदुरहरुको संगठन स्वतन्त्रताको अधिकार सहित टेड युनियनमा संगठित हुन पाउने र सामुहिक सौदावाजीको अधिकार सुरक्षित गरिनु पर्ने माग ट्रेड युनियनहरुले गरेका छन् ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तीमा श्रम कानूनले महिला घरेलु श्रमिकलाई पनि समेट्नु पर्ने भन्दै उनीहरु माथि हुने शारिरीक तथा मौैखिम आक्रमण, यौन दुव्र्यवहार र दासत्वबाट सुरक्षा दिलाउनु पर्ने माग समेटिएको छ । यसैगरी न्यायिक प्रणालीमा श्रमिकको पहुँच हुनुपर्ने भनदै प्रवासी श्रमिकको उजुरी प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने माग ट्रेड युनियनहरुले राखेका छन् ।
सन् २०२२ मा कतारमा हुन गइरहेको विश्वकप फुटवल प्रतियोगिताका लागि निर्माणको काम गरिरहेका बहुराष्ट्रिय कम्पनीहरुलाई आइएलओको श्रम मानक तथा संयुक्त राष्ट्र संघको निर्देशिकाको कदर गर्न समेत आग्रह गरिएको छ ।
हाल समस्यका रुपमा देखिएको दोहोरो सम्झौताको अन्त्यका लागि पनि ट्रेड युनियनहरुले आवाज उठाएका छन् । हस्ताक्षर गरिएको श्रम सम्झौता कतारमा पुगेपछि परिवर्तन नहोस् भन्ने कुराको ग्यारेन्टी गरिनुपर्छ साथै यदि कसैले यस्तो काम गरेमा उनीहरुलाई कारवाही गरिनु पर्दछ पत्रकार सम्मेलनमा ट्रेड युनियनका नेताहरुले आवाज उठाए ।
आइएलओले आगामी मार्चमा कतारमा बाध्यकारी श्रम र प्रवासी श्रमिकको श्रम शोषणको अवस्थाका बारेमा अध्ययन गर्न उच्च तहको त्रिपक्षिय टोली पठाउन लागेकोमा उनीहरुले स्वागत गरेका छन् ।
सन् २०१० मा विश्वकप फुटवल प्रतियोगिताको अधिकार पाएयता कतारमा १२ सय आप्रवासी श्रमिकले ज्यान गुमाईसकेको भन्दै खेल हुने समयसम्ममा ७ हजार श्रमिकले ज्यान गुमाउने दुःखद तथ्य अनुमानित छ । त्यसैले निर्माण क्षेत्रमा कार्यरत श्रमिकको सुरक्षाका लागि सम्वेदनशिल हुन समेत ट्रेड युनियनहरुले कतार सकारसँग आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा जिफन्टका महासचिव विष्णु लम्साल, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिला दाहाल लगायत सहभागि थिए ।