ट्राफिक प्रहरी र यातायात मजदुरबीच हातेमालो अभियान सुरु  

काठमाडौं, सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरी र यातायात मजदुरले हातेमालो अभियान सुरु गरेका छन् । यो अभियानको शनिवार ललितपुरको लगनखेलबाट सुरुवात गरियो । 

यो अभियान नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले महानगरिय ट्राफिक प्रहरी परिसर, ललितपुरसँगको सहकार्यमा सुरु गरको हो । सडकमा काम गर्ने यातायात मजदुर तथा ट्राफिक प्रहरीबीच देखिएको द्धन्द न्यूनिकरण गर्ने उद्धेश्यले अभियान सञ्चालन गरिएको हो । 

हातेमालो अभियान ट्राफिक प्रहरी जवान सुविरा खड्का र टेम्पो चालक मुना श्रेष्ठले हात मिलाएर सुरु गरे । यो अभियानले ट्राफिक प्रहरी र यातायात मजदुरबीच अहिले देखिएको द्धन्द कम हुने अपेक्षा गरिएको छ । हाल ट्राफिक प्रहरीले यातायात मजदुरलाई दुव्र्यवहार गर्ने, ससानो गल्तीमा पनि रु १ हजार जरिवाना तिराउने तथा अनावश्यक रुपमा दुःख दिने गरेको मजदुरको गुनासो छ । यसैगरी यातायात मजदुरले अटेरी गर्ने, ट्राफिक नियम मिच्ने गरेको ट्राफिकले गुनासो गर्दै आएका छन् । 

अभियान शुभारम्भ गर्दै प्रमुख अतिथि ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरिक्षक प्रकाश अर्यालले सडकमा कार्यरत रहने दुवै पक्षका बारेमा जनगुनासा रहेको भन्दै यस्तो अभियानले त्यसलाई कम गर्ने बताए । उनले ट्राफिक प्रहरी र यातायात मजदुर मिलेर काम गरेमा धेरै समस्या आफैं समाधान भएर जाने विश्वास पनि प्रकट गरे । 

सोही अवशरमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीमज्वाला राईले अहिले देखिएको समस्याको जड ट्राफिक र मजदुर दुवै नरहेको भन्दै भौतिक पूर्वाधार नहुनु नै समस्या रहेको बताए । उनले देशभरीमा गत बैशाखसम्ममा १९ लाख ५७ हजार ८ सय ४९ सवारी साधन दर्ता रहेको भन्दै सो अनुरुप सडक नहुनु मुख्य समस्या रहेको बताए । साँघुरो सडकमा सवारी साधनदेखि पैदल यात्रु र चौपायासम्म हिंड्ने गरेका कारण समस्या आइपर्ने गरेको राईको भनाई थियो । उनले ट्राफिक प्रहरी र यातायात मजदुरले एकापसमा दोषारोपण गर्नुको साटो मिलेर काम गर्नुपर्ने धारणा राखे ।       

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय