काठमाडौं- संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले व्यक्तिगत भिसामा श्रम स्वीकृति दिने काममा कडाई गर्न आइतवार सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले व्यक्तिगत भिसामा त्यसरी दिइने श्रम स्वीकृतिको दुरुपयोग भएको, कामदारको शोषण भएको भन्ने गुनासो बढेपछि त्यसमा कडाई गर्न समितिले निर्देशन दिएको हो । समितिले सरकारलाई वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा उल्लेखित मापदण्ड पूरा गरेरमात्र त्यस्तो भिषामा श्रम स्वीकृति दिन निर्देशन दिएको छ ।
समिति बैठकमा श्रम तथा रोजगार मन्त्री दिपक बोहोरा, वैदेशिक रोजगार विभागका महानिर्देशक केदार बोगटीसहितलाई बोलाई सांसदहरुले त्यस्तो श्रम स्वीकृति, डिमाण्ड लेटर स्वीकृति, स्वास्थ्य परिक्षण, त्यस्तो परिक्षण गर्ने संस्थाको नविकरण र अनुगमन लगायतमा विभिन्न प्रश्न राखेका थिए ।
बैठकले कामदारको मागपत्र प्रमाणित गर्ने स्पष्ट मापदण्ड र कार्यविधि निर्माण नभएसम्म नेपाली दूतावास र नियोग भएका मुलुकमा तिनै निकायबाट मात्र प्रमाणित गर्न पनि भनिएको छ । स्वास्थ्य परिक्षणमा फेल भएर फर्केका कामदारलाई विना झन्झट क्षतिपूर्ति दिलाउन र लापरवाही पूर्ण तरिकाले परीक्षण गर्ने सेन्टरलाई कारवाही गर्न समेत निर्देशन दिएको छ ।
कान्तिपुरबाट