काठमाडौं, फागुन ७- मलेसिया र बंगलादेशबीच तीन बर्ष भित्रमा मलेसियामा १५ लाख बंगलादेशी कामदार पठाउने सम्झौता भएको छ । दुई देशका मन्त्रीहरुले यस सम्वन्धि सहमतिपत्रमा विहिवार बंगलादेशको राजधानी ढाकामा हस्ताक्षर गरेको समाचार बंगलादेश र मलेसियाका अनलाइनहरुले लेखेका छन् । द मलेसियन ईनसाइडरका अनुसार सो सहमतिपत्रमा बंगलादेशका बैदेशिक रोजगार मन्त्री नुरुल ईस्लाम तथा मलेसियाली मानव संशाधन मन्त्री दातुक सेरी रिचर्ड जेर्ईमले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार अव बंगलादेशी कामदारहरुलाई निर्माण, सेवा र उद्योेग सवै क्षेत्रमा लिइनेछ । यो सरकारले सरकारसँगको सम्झौताका आधारमा कामदार पठाउने(जिटुजी) प्रणाली अनुरुपको हुने समाचारमा उल्लेख छ । नेपालमा हाल यो प्रणाली कोरियामा कामदार पठाउन अवलम्वन गरिंदै आएको छ । हालै ईजरायलमा कामदार पठाउन पनि नेपाल र ईजरायलले यहि प्रणाली अवलम्वन गरेका छन् । मलेसिया र बंगलादेशबीच पनि यसअघि सन् २०१२ मा दुर्ई देशका सरकार बीचको सम्झौता अनुरुप १० हजार कामदार पठाउने काम भएको थियो ।
सहमति पत्रमा हस्ताक्षर पश्चात मलेसियाली मन्त्री जेइमले कामदारको छनौट पारदर्शी र निश्पक्ष रुपमा गरिने बताएका छन् । सहमति अनुसार बंगलादेशी कामदारले मासिक न्यूनतम १५ हजार टाका( झण्डै ८ देखि ९ सय रिंगिट) पारिश्रमिक पाउने समाचारमा जनाइएको छ ।
तर ठूलो संख्यामा बंगलादेशी कामदार भित्रियाउने मलेसियाली सरकारको निर्णयको विपक्षीहरुले भनें आलोचना गरेका छन् । विपक्षी पार्टीले यसले मलेसियाका नागरिकको रोजगारी अप्ठ्यारोमा पर्ने भन्दै आफ्नै नागरिकलाई रोजगारीमा प्राथमिकता दिइनुपर्ने बताएका छन् । तर मलेसियाका उपप्रधानमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीले भनें जोखिमपूर्ण तथा थोरै कमाई हुने काममा मलेसियन नागरिकको रुची नभएको हुँदा विदेशी कामदार ल्याउनु पर्ने बाध्यता रहेको बताएका छन् ।
८ लाखको हाराहारीमा नेपालीहरु कार्यरत रहेको अनुमान गरिएको मलेसियाले नेपालले निःशुल्क भिसा र टिकटको व्यवस्था कार्यान्वयनमा ल्याएपछि ठूलो संख्यामा बंगलादेशी कामदार भित्रियाउन लागेको हो । यसले मलेसियामा नेपालीको रोजगारीको अवशरमा ठूलै कटौति आउने सम्भावना छ । पछिल्लो ६ महिनामा मलेसिया जाने नेपाली कामदारको संख्यामा ठूलै ह्रास आइसकेको छ । असुरक्षा तथा न्यून कमाईका कारण पछिल्लो समयमा मलेसिया नेपाली कामदारको आकर्षणमा कमजोर हुँदै गएको थियो ।
यो पनि पढ्नुहोस्
व्यवसायीको आक्रोशः अव मलेसियाबाट ६ लाख नेपाली एक बर्षभित्रै फर्काइनेछ
मलेसिया जानेको संख्या धेरै घट्यो, बढे साउदी र कतार जानेहरु