
काठमाडौं, फागुन ६- गत साउन यताका ६ महिनाको तथ्याँकको विश्लेषणका आधारमा नेपालीमो मुख्य गन्तव्य फेरिएको छ । यसअघि रोजगारीका लागि जाने नेपाली मध्ये ठूलो संख्यामा मलेसिया जाने गरेको देखिएको थियो ।
बैदेशिक रोजगार विभागले देशगत तथ्याँक राख्न थालेयता गत असारसम्ममा १० लाख ७८ हजार ७ सय ३२ नेपाली श्रम स्वकृति लिएर मलेसिया गएका थियो । यो पहिलोमा पर्दछ । यसैगरी दोश्रोमा ८ लाख ८४ हजार २० जनाले श्रम स्वीकृति लिएर कतार गएको देखिन्छ । तेश्रोमा साउदी अरव जाने नेपालीको संख्या रहेको थियो । सो समयावधिमा ६ लाख ६९ हजार ६ सय ५२ जना नेपाली साउदी गएका थिए । चौथो नम्वरमा रहेको युएई जाने नेपालीको संख्या ४ लाख १८ हजार ४० रहेको थियो ।
२०५०/५१ देखि २०७२ असारसम्मको तथ्याँकका आधारमा देखिएको ग्राफ
तर गत साउन महिना यता नेपालीको रोजगारीको क्षेत्र फेरिएको देखिएको छ । यो समयावधिमा सवैभन्दा धेरै नेपाली साउदी अरव गएका छन् । सो देशमा ६ महिना भित्र ६६ हजार ८ सय ५० जना नेपाली श्रम स्वीकृति लिएर गएका छन् । यसैगरी दोश्रोमा कतार कायम छ । ६ महिना भित्र कतार जाने नेपालीको संख्या ६४ हजार ७ सय ५२ छ । यसअघि पहिलो नम्वरमा रहेको मलेसिया जानेको संख्या घटेर तेश्रो स्थानमा आइपुगेको छ । साउनयताका ६ महिनामा ३५ हजार ३ सय ३५ जना नेपाली रोजगारीका लागि मलेसिया उडेका छन् । चौथो नम्वरमा युएई कायम छ जहाँ २६ हजार ४ सय ७ नेपाली काम गर्न गएका छन् ।
सरकारले निःशुल्क भिसा र टिकटको व्यवस्था कार्यान्वयन गरेपछिको अवस्था
सरकारले निःशुल्क भिसा र टिकटको व्यवस्था कार्यान्वयनमा ल्याएपछि मलेसियाका रोजगारदाता, त्यहाँको सरकारी योजना र नेपालका म्यानपावर कम्पनीहरुको अनिच्छाका कारण मलेसियाबाट पछिल्लो समयमा नेपाली कामदारको माग उल्लेख्य रुपमा घटेको हो । नेपालले निःशुल्क भिसा र टिकटको व्यवस्था अनिवार्य गरेपछि मलेसिया सरकारले तीन बर्षभित्रमा १५ लाख बंगलादेशी कामदार ल्याउने भन्दै नेपाललाई घुक्याईरहेको प्रवासी नेपाली समन्वय समितिका महासचिव सोमप्रसाद लामिछाने बताउँछन् । यसैगरी त्यहाँका रोजगारदाताहरुले पनि कामदारबाट भिसा र टिकटको रकम तिराउन नपाएमा त्यसको विकल्पमा बंगलादेश रोजेको उनको भनाई छ । आप्रवासी कामदार ल्याउँदा शुन्य लागत हुनुपर्ने मान्यता विपरितको यो व्यवहारका विरुद्धमा आवाज उठाइनुपर्ने लामिछानेले बताए ।